भारतले प्याजमा निर्यात कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्यमा २८ प्रतिशत वृद्धि

भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने घोषणा गरेसँगै नेपाली बजारमा प्याजको मूल्य वृद्धि भएको छ ।

भारतले प्याज उत्पादनमा कमी आएपछि निर्यात घटाउन कर लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आन्तरिक बजारलाई ध्यानमा राखेर भारतले निर्यातमा उच्च कर लगाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बताए। ‘आफ्ना उपभोक्तालाई प्याज अपुग हुने भएपछि निर्यात रोक्न भारतले कर लगायो,’ उनले भने, ‘मारमा नेपाली उभोक्ता परेका छन्।’

शनिबार भएको उक्त निर्णयपश्चात् पनि आइतबार नेपालमा प्याजको मूल्य स्थिर नै थियो । शनिबार प्रतिकेजी ६१ रुपैयाँ रहेको सुकेको भारतीय प्याज आइतबार पनि सोही मूल्यमा बिक्री भएको थियो ।

सोमबार भने सुकेको भारतीय प्याजको मूल्यमा २७.८७ प्रतिशतले वृद्धि भएको छ । आज (सोमबार) कालिमाटी तरकारी बजारमा प्याजको मूल्य ७८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै, हरियो प्याजको मूल्यमा ४१.४६ प्रतिशतको वृद्धि देखिएको छ । भारतले निर्यातमा कर लगाउनुअघि गत शनिबारको तुलनामा आइतबार हरियो प्याजको मूल्य घटेको थियो । १४० रुपैयाँ प्रतिकेजी शनिबार बिक्री भएको उक्त प्याज आइतबार १३६ रुपैयाँ प्रतिकेजी मूल्यमा थियो । सोमबार भने हरियो प्याजमा उच्च वृद्धि देखिएको छ।

हरियो प्याज प्रतिकेजीमा आइतबार रहेको १३६.६७ रुपैयाँबाट वृद्धि भएर १९३.३३ प्रतिशत पुगेको छ ।

 

Comments

Back to top