नेपाल टेलिकमले ल्यायो १ जीबीपीएस उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा
नेपाल टेलिकमले १ जीबीपीएससम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा सुरु गरेको छ । यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ ।
हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुने भनिएको छ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ ।
प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने र अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ । यो प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ । प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ ।
५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ । हाल काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध गराइएको एनटीसीले जनाएको छ ।
Comments