नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी
गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो ।
अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा नेपालले कुल रू १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा रू २१ खर्ब २० अर्ब ४७ करोड ७३ लाख बराबरको वैदेशिक व्यापार भएकोमा गत वर्ष भने रू १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाखमा सीमित भएको देखिएको हो ।
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष मुलुकले कुल रू १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको मालवस्तु आयात गर्दा रू एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको मात्रै निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १६ दशमलव ०८ र निर्यात २१ दशमलव ४४ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्ष नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८८ प्रतिशत बराबर छ । अर्थात् नेपालले गरेको कूल निर्यातको तुलनामा कूल आयात १० दशमलव २६ गुणाले बढी हो। गत वर्ष आयातित वस्तुबाट कूल रू तीन खर्ब ७७ अर्ब २६ करोड चार लाख बराबरको भन्सार राजस्व उठेको छ ।
Comments