सभामुखसहित शीर्ष नेताहरुको बैठक सुरू

सभामुख देवराज घिमिरेसहितको शीर्षनेताहरूको बैठक सिंहदरबार सुरु भएको छ । 

सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी भएका छन् । 

सभामुख घिमिरेको आह्वानमा बसेको बैठकमा सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । 

गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन्।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई बोलाएका हुन् । 
 

Comments

Back to top