व्यवसायीलाई जुजु धौको माग धान्ने चटारो
मानो रोपेर मुरी फलाउन रोपाइँमा व्यस्त हुनुपर्ने असार महिना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै खालको आनन्दको अनुभूति हुने बेला हो असार । यही असारको मध्य अर्थात् असार १५ रोपाइँ गर्दै हर्षोल्लासका साथ खुसी साटासाट गरी दही चिउरा खाएर रोपाइँ महोत्सव मनाउने दिन पनि हो ।
सरकारले राष्ट्रिय ‘धान दिवस’को रुपमा समेत मनाउन थालेपछि असार १५ को महत्वले अझ बढी व्यापकता पाएको छ । धानबाली नेपालको प्रमुख बाली हो । धानलाई मात्र अन्न मान्ने परम्परासमेत रहेको नेपालमा रोपाइँलाई एउटा पर्वकै रुपमा लिने गर्दछ । त्यसैले रोपाइँमा बाजागाजासहित गीत गाउने रोपाइँ सकेपछि भोज गर्ने प्रचलनसमेत रहेको छ ।
गाउँका मुखिया, काजी र ठूलाबडाले रोपाइँलाई ठूलो पर्वको रुपमा मनाउने नेपाली समाजमा अन्य साना किसानले समेत रोपाइँलाई पर्वको रुपमा मनाउन असार १५ मा दही चिउरा खाने परम्पराको विकास भएको संस्कृतिकर्मीहरुको भनाइ छ । त्यसैले असार १५ मा दहीको माग अत्याधिक हुने गर्दछ ।
असार १५ को यही मागलाई धान्न भक्तपुरका दही व्यवसायीलाई अहिले चटारो परेको छ । भक्तपुर दहीको उपत्यका मात्र नभएर मुलुक बाहिरसमेत प्रख्यात छ । यहाँ उत्पादन हुने मौलिक र परम्परागत जुजु धौको स्वाद र गुणस्तरका कारण यो अत्याधिक लोकप्रिय रहेको छ । एक पटक यसको स्वाद चाखेको व्यक्तिले हत्तपत्त अन्य दही खान मन नपराउने भएकाले यसको माग उच्च छ ।
Comments