नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु
नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी यो सेवाको सुरुवात गरेको हो । ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी प्रतिदिन २० लाख र प्रतिमहिना ५० लाख रुपैयाँसम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सक्नेछन् ।
एनबैंक वेबको सहयोगले प्रयोगकर्तामैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ । एन बैंक एप (मोबाइल बैंकिङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आइडी र पासवर्डको वा क्यूआर कोडको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
एनबैंक वेब मार्फत ग्राहकहरूले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्न, मुद्दती निक्षेप खोल्ने, र मुद्दती निक्षेपविरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधिहरू गर्न सक्छन् । एन रेमिट, नबिल बैंकको अन्तर्राष्ट्रिय कार्डमा आधारित रेमिट्यान्स सेवा पनि एनबैंक वेब मार्फत पहुँच गर्न सकिने छ ।
Comments