नौ कारोबार दिन पछि बजार सामान्य अंकले घट्यो !
सेयर बजारमा सोमबार झिनो अंकले ओरालाे लागेकाे छ । साेमबार नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ । ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको हो ।
त्यसो त नेप्सेले सोमबार इन्ट्रा डेमा २१ सय विन्दुको मनोवैज्ञानिक रेखा क्रस गर्न सफल भयो । बजार खुल्ने बित्तिकै सूचक २१ सय विन्दुमाथि पुगेको थियो । तर, यसरी बजारले माथिल्लो विन्दु तय गर्नेबित्तिकै ट्रेडरहरु हावी भइहाले । उनीहरुले प्रोफिट बुक गर्न लाग्दा फेरि सूचकले केही दबाबको सामना गर्नुपर्याे । फलस्वरुपः नेप्से सूचक पुनः २१ सय विन्दुभन्दा तल झर्याे ।
डोजी क्यान्डल बनेको बजारमा बजार जता पनि जान सक्ने अनुमान लगाउन सकिन्छ। बजारमा करेक्सनको शृंखला चले बजारले २०२०को एरिया टेस्ट गर्न जाने देखिन्छ भने बजार अझै माथि गए २१७०को एरियाले प्रतिरोधको भूमिका निर्वाह गर्न सक्दछ।
समग्रमा हेर्ने हो भने पछिल्ला दिनहरुमा सेयर बजारमा सकारात्मक माहोल बनिरहेको छ । अहिलेको बजारको सबल पक्ष भनेको सूचकमात्र नभई कारोबार रकमले पनि तेजी लिनु हो । साेमबार २७६ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र सोल्टी होटल परेका छन् ।
Comments