सौभाग्य डंगोल: करुणा माया दया फार्मेसीकी संस्थापक जसले ग्राहकको सहजता र सेवालाई रणनीति बनाईन् !

प्राविधिक शिक्षा र सेवासँग समर्पित भएको हुनाले विद्यार्थीको चाप फार्मेसीतर्फ धेरै देखिन्छ । चार बर्षको कडा मेहनत र परिश्रम सकेर जब  फिल्डमा प्राक्टिस गर्न गइन्छ तर सोचे जस्तो काम, दाम र प्रतिष्ठा हुन नसकेपछि धेरै जनशक्ति बिदेश जाने गरेको पाइन्छ। 

फार्मेसी पेशामा अवसर नपाएसम्म आफुलाई चिनाउन निकै गाह्रो छ, स्कीलफुल बन्न पनि समय निकै लाग्छ । भनिन्छ, व्यवसाय जसमा सेवाको मुख्य भुमिका हुन्छ,यसमा सफलता र अवसर प्राप्त गर्न मेहनत बाहेक अरु बिकल्प छैन ।

फार्मेसी क्षेत्रमा निकै चुनौति र अवसरको कुरा गर्दा आफुले पढेपछि कोरोना कालको महामारी सम्झिन्छिन्, सौभाग्य डंगोल । सौभाग्य एक युवा फार्मासिस्ट हुन् । हाल उनी करुणा हस्पिटलको फार्मेसी संचालक पनि हुन् ।

कोरोना महामारी फैलिरहेको थियो । देशभरमा औषधि र स्वास्थ्योपचारको अभाव देखिन्थ्यो । सौभाग्य भने घरमा बस्नुपर्दा खिन्न र कताकता पछुतो मानिरहेकी थिइन् । औषधि र स्वास्थ्य सम्बन्धी शिक्षा हासिल गरे पनि देशले खोजेको समयमा आफू उपलब्ध नहुँदा उनलाई भित्रभित्रै मन चसक्क भइरह्याे । 'सबैजना काममा लागेको बेलामा म भने घरमा थिएँ, मैले आफ्नो पढाइमाथि न्याय गर्न सकिनँ भन्ने आभास भयो । कति आफन्तको औषधि र उपचारको अभावमा मृत्यु भयो र त्यसमा मैले केहि गर्न सकिनँ भन्ने पछुतो पनि थियो,' करुणा माया दया फार्मेसीकी संस्थापक सौभाग्य सुनाउँछिन् ।

ब्याचलर इन फार्मेसी गरेकी सौभाग्य स्वदेशी औषधि उत्पादक कम्पनी ऐरो फार्मेस्युटिकल्स कम्पनीमा र्मोट प्लानिङ डेभलेपमेन्ट अफिसर थिइन् । कोरोना फैलिएपछि औषधि उत्पादन तथा बजारीकरणको योजनाका काम कम भएपछि उनी घरमै सिमित भइन् । सो समयमा बजारको बारेमा पर्याप्त ज्ञान र अनुभव नभए पनि त्यसैलाई चुनौती मान्दै सौभाग्य अघि बढिरहिन् ।

'त्यसपछि यो चुनौती लिनुपर्यो भनेर अवसर खोजी गर्न लागेँ । अब पूर्ण रुपमा यहि सेवामा लाग्छु भन्ने सोचेँ,' उनी सम्झिन्छिन् । त्यसैक्रममा करुणा अस्पतालको फार्मेसी पुनः निर्माण हुँदैछ भन्ने सौभाग्यलाई थाहा भयो । उनले आफ्नो समुहका साथमा अनुसन्धान गर्न थालिन्ँ । 'करुणा अस्पताल व्यवसायिक मात्र नभई सेवामुखी पनि रहेको थाहा पाएर सहकार्य गर्दै स्थापना गरेका हौँ,' उनी करुणा फार्मेसी खोल्नुको कारण बताउँछिन् ।

यसका साथै करुणा माया दया फार्मेसी चिकित्सक र बिरामी बीचको पुल बन्ने पनि गरेको छ । ग्राहकहरुको सहजता र सेवा नै हाम्रो रणनिती हो, सौभाग्य खुलाउँछिन्।

सौभाग्यका अनुसार बिरामीहरुले सहि समयममा सहि औषधि पाउनु नै उनको लक्ष्य रहेको छ । 'कसैले पनि अभाव खेप्नु नपरोस् न त कोहि कालोबजारीमा परेर ठगियोस् ।'

करुणा माया दयाको सेवा विस्तार गर्दै लैजाने तथा स्वास्थकर्मीहरुसँग सम्बन्ध विकास गर्ने पनि सौभाग्यको आगामी योजना रहेको छ । त्यसैगरी,विश्व परिवर्तन गरिरहेको यहि इन्टरनेटको अस्तित्वलाई महत्व दिँदै औषधिबारेकाे ज्ञान र परामर्शकाे लागि आइटीकाे प्रयाेग सधै गर्ने उद्देश्य पनि संस्थापक डंगोलको रहेको छ ।

समय अघि बढेसँगै अवसर पनि धेरै छ । फार्मेसी पढेर फेरि अर्को क्षेत्रमा वा विदेशतिर लाग्न नपरोस्,' यहि क्षेत्रमा नै भविष्य बनाउन बाटो खोज्नुपर्ने सौभाग्यको भनाई छ ।

Comments

Back to top