सुरज उप्रेती: ५ वर्षमा टपटेन औद्योगिक घराना बन्ने लक्ष्य!

पुल्चोक क्याम्पसबाट इन्जिनियरिङको अध्ययन पूरा गरेपछि सुरज उप्रेती व्यवसायलाई नयाँ ढंगले अगाडि बढाउने सोचमा थिए । बुवा सिताराम उप्रेतीले शुरु गरेको व्यवसायको दायारालाई उद्योग खोल्ने सोच उनमा थियो ।

पवर्तबाट भैरहवा झरेका सुरजका बुवा त्यो क्षेत्रमा परिचत र सफल व्यवसायीको रुपमा आफूलाई चिनाइसकेका थिए । बुवाले शुरु गरेको व्यवसायको बलियो फाउन्डेसनमा उनी सफलताको तला थप्न चाहन्थे । जुन सोच उनले उद्योगबाट मात्र हुने देखे ।

जुनबेला उद्योग लगाउनु सबैभन्दा बढी चुनौती थियो । त्योबेला औद्योगिक वातावरण राम्रो थिएन । लोडसेडिङ देखि श्रम समस्या प्रमुख थियो । त्यसै बेला उनी इन्जिनियरिङ सकेपछि एसआर स्टिल खोलेर उद्योग क्षेत्रमा प्रवेश गरे ।

इन्जिनियर भएकाले निर्माण क्षेत्रमा योगदान दिन र बलियो निर्माण क्षेत्र बनाउनको लागि स्टिल उद्योगमा खोल्ने निर्णय लिएको सुरज बताउँछन् ।

भैरहवामा उनको कर्पोरेट कार्यालयमा क्लिकमाण्डूसँग उद्योग खोल्दाको अनुभव सुनाउँदै सुरजले भने, ‘बुवाले स्क्रयाब स्टिल मिल लिनु भएको थियो, बुवाको इच्छा त्यसमा घरजग्गाको काम गर्ने थियो, मैले उद्योगमा जाने निर्णय लिए ।’

सुरजको उद्योग चलाउने निर्णय सही पनि साबित भयो । ५ नम्बर प्रदेशमा एसआर स्टिल अहिले अग्रणी ब्राण्डका रुपमा स्थापित भइसकेको छ ।

बुवाले शुरु गरेको व्यवसायको कारण सानैदेखि आफूले व्यवसायिक वातावरण घरमा देखेको सुरज बताउँछन् ।

‘बुवाले सर्भिस क्षेत्रमा बढी फोकस गर्नु भएको थियो, त्यसलाई मैले उद्योगमा फोकस गर्दै कर्पोरेट हिसाबले ग्रुपलाई सञ्चालन गरे,’ सुरजले भने ।

रुपन्देहीबाट उदाएको कर्पोरेट ग्रुपको रुपमा एसआर ग्रुप स्थापित भएको छ । जसको अध्यक्ष सुरजका बुवा सिताराम उप्रेती छन् भने प्रवन्ध निर्देशकको रुपमा सुरजले ग्रुपलाई अगाडि बढाएका छन् ।

अहिले ग्रुप अन्तर्गत सर्भिस सेक्टरको काम सुरजको बुवाले नै हेर्दै आएका छन् भने उद्योगको काम सुरज आफूले हेर्छन् । ७ वर्षको अवधिमा दैनिक कामका लागि अब सुरजले बुवालाई नसोधेरै पनि पनि निर्णय लिने भइसकेका छन् भने मेजर डिसिजनको लागि बुवाको सल्लाह र सुझाव लिएर अगाडि बढ्ने उनी सुनाउछन् ।

भैरहवामा केन्द्रित रहेर व्यवसाय सञ्चालन गरेको एसआर ग्रुपलाई ५ वर्षभित्रमा टपटेन औद्योगिक घरानामा पुर्याउने लक्ष्य लिएको सुरज सुनाउछन् ।

एसआर ग्रुपले अहिलेको लगानीको फोकस ५ नम्बर प्रदेशमा नै गर्ने योजना उनको छ । तर काठमाडौंमा कर्पोरेट कार्यालय खोल्नुपर्ने आवश्यकता उनले देखेका छन् । अन्य औद्योगिक घरानासँग सम्बन्ध बनाउन होस् या व्यवसाय विस्तारका लागि हामीले कर्पोरेट कार्यालय काठमाडौंमा खोल्ने योजना बनाएका छौ ।

नयाँ युवा पुस्तालाई सानो भएपनि उद्यम गर्न नेटवर्किङ बनायो भने उद्योग चलाउन सजिलो हुन्छ । त्यसपछि जनशक्ति व्यवस्थापन गर्न सकेमा सफलता मिल्ने उनको अनुभव छ ।

उद्योगका लागि पछिल्लो समय आर्थिक संकट नै देखिने अवस्था आएको सुरजले सुनाए । उद्योगहरुको पेमेन्ट ६ महिनासम्म पनि नउठ्ने अवस्थामा पुगेको छ । पछिल्लो समय विद्युत् प्राधिकरणले काटेको ट्रङलाइन/डेडिकेटेटले थप समस्या पारेको उनी बताउछन् ।

क्लिकमान्डु

Comments

Back to top