इरान र अफगानिस्तानबीच सीमामा गाेली हानाहान, दुई इरानी सीमारक्षक र एक तालिबानी लडाकुको मृत्यु

इरान र अफगानिस्तानको सीमामा रहेको एक चौकी नजिक शनिबार गोली हानाहान हुँदा तीनजनाको मृत्यु भएको अलजजीराले खबर दिएको छ ।

जल अधिकारका विषयमा दुई मुलुकबीचको विवादका क्रममा चर्किएको तनावबीच गोली हानाहान भएको हो । इरानका दुई सीमारक्षक र एक तालिबानी लडाकू मारिएको बताइएको छ । दुईजना इरानी सर्वसाधारण घाइते भएका छन् ।

इरानका राष्ट्रपति इब्राहिम रईसीलले तालिबानलाई सन् १९७३ को सन्धि उल्लंघन हुने गरी हेल्मान्द नदीको पानी इरानको पूर्वी क्षेत्रमा पुग्न नदिने काम नगर्न तालिबानलाई चेतावनी दिएका थिए । तालिबानले रईसीको आरोपको खण्डन गरेको छ ।

गोली हानाहान इरानले नै शुरू गरेको तालिबानको आरोप छ । उता इरानका प्रहरी उपप्रमुख कासेम रेजाईले सासोली चेकपोइन्टमा तालिबान बलले गोली हान्न शुरू गरेको अनि आफूहरूले त्यसको निर्णायक प्रतिकार गरेको बताएका छन् ।

Comments

Back to top