सुन्तला उत्पादनकाे विशेष पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना
सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ ।
सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिए ।
मनकामना मन्दिरका कारण देशकै धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहेको मनकामना क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुन्तलाको पनि पकेट क्षेत्रका रूपमा रहेको जानकारी गराउन प्रतिमा निर्माण गरिएको हो । प्रतिमा निर्माणले मनकामना क्षेत्रका किसानलाई सुन्तला खेती गर्न अझ बढी प्रोत्साहन मिल्ने वडाध्यक्ष थापामगरको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ मनकामना बजार एकाइले करिब रु छ लाख लागतमा ढाँटबारीमा सुन्तलाको प्रतिमा निर्माण गरेको हो । स्थानीवासीले बसपार्कमा निःशुल्क उपलब्ध गराएको जग्गामा प्रतिमा निर्माण गरिएको वडाध्यक्ष थापामगरले बताए ।
Comments