रामेछाप जिल्लाबाट मात्रै दश महिनामा ६ हजार बढी युवा जनशक्ति विदेशिए

चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट मात्रै ६ हजार तीन सय ४९ युवा जनशक्ति बाहिरिएका छन् । 

नेपालमा रोजगारीका अवसर नभएपछि उनीहरू रोजगारीका लागि विदेश पलायन भएका हुन् । मन्थली नगरपालिकालगायत विभिन्न गाउँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार चालु आव २०७९/८० को साउनदेखि वैशाखसम्म रामेछापबाट छ हजार तीन सय ४९ रोजगारीका लागि विदेश गएका हुन् ।

१० महिनाको तथ्याङ्कलाई हेर्दा रोजगारी गर्न रामेछापबाट झन्डै साढे ६ हजार मानिस विदेश गएको देखिन्छ । रोजगारीका लागि मलेसिया, युएई, कतार, बहराइन, कुवेत, साउदी अरब र ओमानलगायत देशमा गएको तथ्याङ्कमा उल्लेख छ । 

सामी कार्यक्रम अधिकृत दीपक केसीका अनुसार चालु आव २०७९-८० को साउनदेखि वैशाखसम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट आठ हजार आठ सय ५९ जनाले राहदानी लिएका छन् ।

Comments

Back to top