सिस्तान–बलुचिस्तानमा पाकिस्तानी सशस्त्र समूहसँगको भिडन्तमा छ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु

दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा सशस्त्र समूहसँगको भिडन्तमा आइतबार छ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानसँगको इरानको सिमानामा रहेको सारावनमा सीमा सुरक्षाकर्मीको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले स्थानीय अभियोजक मेहदी शम्साबादीलाई उद्धृत गर्दै जनाएको छ ।

अफगानिस्तानको सिमानामा पर्ने गरिबीले ग्रस्त सिस्तान–बलुचिस्तान लागूऔषध तस्कर गिरोहका साथै बलुची अल्पसङ्ख्यक र सुन्नी मुस्लिम चरमपन्थी समूहका विद्रोहीसँग भिडन्त भइरहने स्थल हो ।

आइतबारको आक्रमण देशमा घुसपैठ गर्न खोज्ने आतङ्कवादी समूहद्वारा गरिएको जनाउँदै समाचार समिति फार्सले झडपपछि उक्त समूहका लडाका सीमा पारी भागेका जनाएको छ । यो आक्रमण हालैका महिनामा भएकामध्ये सबैभन्दा घातक हो । 

 

Comments

Back to top