पानी नपर्दा र डढेलोका घटनाले वायु प्रदूषणमा पुनःवृद्धि
पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्युआईका अनुसार अहिले ललितपुर पाटनको एक्युआई एक सय ७६, काठमाडौँ कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ रहेको छ ।
एक्युआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्युआई एक सय ५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ । पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआई एक सय ५० भन्दामाथि छ ।
प्रदूषणकै कारण काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् बताउँछन् र तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।
भक्तपुर, मध्यपुरथिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेकाले यहाँको हावा अस्वस्थकर देखिएको जनाइएको छ । यी क्षेत्रको एक्युआई एक सय ५० भन्दा कम रहेको छ । यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुने विज्ञ बताउँछन् । गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित बन्दै गएको बताइएको छ ।
Comments