इमरान खानलाई तत्काल रिहा गर्न पाकिस्तान सर्वोच्च अदालतको आदेश
पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ ।
पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो ।
गतवर्ष अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएका खानलाई सर्वोच्च अदालतले अपराह्न ४ः३० बजे उपस्थित हुन आदेश दिएको थियो तर एक घण्टापछि साँझ ५ः४० बजे उनलाई उपस्थित गराइएको थियो ।
पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको बताएपछि उनलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो ।
एआरवाई न्यूजका अनुसार राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी)ले खानको गिरफ्तारीलाई ‘वैध’ ठहर गर्ने इस्लामाबाद उच्च अदालत (आईएचसी)को निर्णयलाई चुनौती दिँदै पीटीआईले सर्वोच्च अदालतमा एक याचिका दायर गरेको थियो ।
Comments