च्याट जीपीटीले शेयरमा लगानी गरेर दुई महीनामै कमायो ५ % नाफा

 

हालैका महीनाहरुमा च्याट जिपीटी (Chat GPT) को निकै चर्चा चलेको छ । यसले कुन कुन क्षेत्रबाट कति जति जागिर खोस्ला भन्ने अड्कल अनुमान रोकिएको छैन । च्याट जीपीटीले रोजगारी र व्यवसायको दुनियामा व्यापक हेरफेर ल्याउने अनुमान छ । च्याट जीपीटीको बौद्धिकताले ब्रोकरेज र म्युचअल फन्डको जागिर पनि खोस्ने अनुमान गर्न लागिएको छ ।

फाइनान्सियल कम्प्यारिजन गर्ने एक साइटले गरेको प्रयोगको नतिजाअनुसार मार्च ६ देखि अप्रिल २८ को बीचमा च्याट जीपीटीले लगानीका लागि रोजेको ३८ ओटा शेयरको एक पोर्टफोलियोले ५ प्रतिशतको मुनाफा दिएको छ । सोही अवधिमा बेलायतका १० प्रमुख लगानी कम्पनीहरुले भने शून्य दशमलव ८ प्रतिशतको घाटा बेहोरेका थिए । 

च्याट जीपीटीले बनाएको डाइभर्स पोर्टफोलियो भएको सो फन्डले एचएसबीसी र फिडेलिटीलगायत कोष व्यवस्थापकहरुले छानेको भन्दा राम्रो मुनाफा दिलायो । सो अवधिमा स्ट्यान्डर्ड पुअर्स ५०० सूचक ३ प्रतिशत र स्टक्स यूरोप ६०० सूचक क्रमशः ३ प्रतिशतले बढेका थिए । यसले फन्ड म्यानेजरहरुको तुलनामा च्याट जीपीटीले तयार पारेको पोर्टफोलियोले लगानीकर्ताहरुलाई धेरै कमाउने अवसर दिएको देखाउँछ । 

ओहो, भविष्यमा च्याट जीपीटीले मानवको बुद्धिले गरिदिने कयौं कामलाई चुनौती त दिने होइन, ब्रोकरेज र म्युचअल फन्डले गर्ने कामै त खोस्ने होइन भन्ने तपाईंले सोचिरहनु भएको होला । यस्तै हुन पनि सक्ला । च्याट जीपीटीले लगानी गर्दा अपनाइने सामान्य मापदण्डलाई ध्यानमा राखेरे च्याम्पियन स्टकहरू चयन गरेको थियो । च्याट जीपीटीले लगानीकर्ताहरुलाई माइक्रोसफ्ट, नेटफ्लिक्स र वालमार्ट जस्ता ऋण कम भएको अनि ग्रोथ हिष्ट्री राम्रो भएका कम्पनीमा लगानी गर्न भनेको थियो । 

भविष्यमा च्याट जीपीटीले मानिसहरुलाई फन्ड म्यानेजमेन्ट कसरी गर्ने भनेर सिकाउन भने सक्छ । बेलायतमा अहिले नै वयस्कहरुले वित्तीय सुझावका लागि च्याट जीपीटीसँग सल्लाह लिन शुरु गरेको हालै भएको एउटा सर्वेक्षणले देखाएको थियो । तर यसमाथि अविश्वास गर्नेको संख्या पनि निकै धेरै छ । 

एजेन्सी

Comments

Back to top