गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित
रौतहटसहित मधेश प्रदेशका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा मधेशमा जनजीवन प्रभावित बनेको हो । सप्तरी राजविराजको ४० दशमलव चार डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालय रौतहटले अनुरोध गरेको छ । गर्मीका कारण तराई, मधेशका सप्तरी तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । बजार सुनसान देखिन थालेका छन् ।
मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । रौतहटमा तातो बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने वर्गलाई समस्या पर्न थालेको छ । केही दिनअघिदेखि बढेको अत्याधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ । अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।
Comments