नयाँ बजेटले आशाको नयाँ रक्तसञ्चार गर्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् ।
बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नम्बर १ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरि नयाँ बजेटको तयारी गरिएको बताए ।
सभामा प्रधानमन्त्रीले भने, 'सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं ।'
प्रधानमन्त्रीले निकै ठूलो मेहेनतपछि वर्तमान गठबन्धन फेरि एकताबद्ध भएर अघि बढेको बताए । उनले भने, 'संविधानको हुर्मत लिने र गणतन्त्रमाथि प्रहार गर्नेहरूविरूद्ध अहिलेको गठबन्धन बनेको हो । विकास र समृद्धिको नयाँ अभियानतर्फ लाग्ने अठोटका साथ गठबन्धन अगाडि बढिरहेको छ । कहिलेकाहिँ खहरेखोला पनि उर्लेर आउँछ, तर त्यो सुक्नेवाला छ । नदी सदाबहार रूपमा अगाडि बढ्छ । जनता न्यायाधीश हो, त्यसैले तनहुँबासी जनताले उचित फैसला गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।'
Comments