मिलुन्का साभिच: पुरुषको भेषमा पहिलो विश्वयुद्ध लड्ने महिला!

विश्व सैन्य इतिहासमा मिलुन्का साभिच (सन् १८८८–१९७३) लाई नायिकाका रूपमा स्मरण गरिन्छ । बाल्कन युद्ध र पहिलो विश्वयुद्ध लडेकी सर्बियाली साभिच वीरांगना थिइन् । सर्बियाले उनलाई देशको सबैभन्दा महान् लडाकू घोषणा गरेको थियो । 

सन् १९१३ मा दोस्रो बाल्कन युद्धमा उनको भाइलाई युद्धमा बोलाइयो । साभिचले भाइको सट्टा आफू जाने निर्णय गरिन् र युद्धमा होमिइन् । उनले कपाल काटेर पुरुषले झैँ छोटो बनाइन् । पुरुषकै पोशाक र भेषमा सर्बियाली सेनामा आबद्ध भइन् । उनले पहिलो लडाइँमै बहादुरी देखाइन् र तक्मा पाइन् र कर्पोरलमा बढुवा भइन् । 

अर्को एउटा युद्धमा उनी घाइते भइन् र अस्पताल भर्ना भइन् । त्यहाँका डाक्टर र नर्सले बल्ल उनी पुरुष नभई महिला भएको थाहा पाए । त्यसपछि त्यहाँ हंगामा मच्चियो। 

उनलाई कमान्डिङ अधिकृतका अगाडि उभ्याइयो तर, अधिकृतले उनलाई सजाय दिन चाहेनन् किनभने, उनले बहादुर सैनिकको भूमिका निर्वाह गरेकी थिइन्। उनको बटालियनका लागि उनी महत्त्वपूर्ण योद्धा थिइन् । अधिकृतले उनलाई नर्सिङ विभागमा पठाउन खोजे तर उनले मानिन् । त्यसपछि उनलाई लडाकू दस्तामै पठाइयो। 

त्यसपछि उनले प्रथम विश्वयुद्ध लडिन् । अभूतपूर्व बहादुरी देखाइन् । उनले सर्बियाको सर्वोच्च सम्मान मात्र प्राप्त गरिनन्, फ्रान्स, रुस र ब्रिटेनका महत्त्वपूर्ण तक्मा र उपाधि पनि हासिल गरिन् । उनलाई फ्रेन्च सरकारले आफ्नो देशको नागरिक बन्न अनुरोध गर्‍यो र आकर्षक पेन्सन दिने बतायो । तर, उनले सर्बिया छाड्न चाहिनन् । सर्बियाका केही सडक उनका नाममा नामकरण गरिएका छन् । 

Comments

Back to top