अभाव र गरीबीबाट उठेर चार्ली च्याप्लिन कसरी सर्वकालीन अभिनेता बने ?

चार्लीको पूरा नाम, चार्ली स्पेन्सर च्यापलिन हो । उनको जन्म सन् १८८९,  १६ अप्रिल लन्डनमा भएको थियो।  

‘चार्ली च्याप्लिन जस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन स्वयम् पनि सहभागी थिए । तर, अन्तिम चारमा उनी पुगेनछन् ।’ एक राजनीतिक प्रसंगमा प्रधानमन्त्री केपी ओलीले सुनाएकाे ठट्यौलाे कथा हो यो ।

वास्तवमा चार्ली च्याप्लिन विश्वकै महान हास्य अभिनेता हुन्, सर्वकालीन । उत्कृष्ट हास्य-विनोद एवं मौलिक शैलीले उनलाई अजम्बरी बनाएका छन् । संवादरहित एवं मूक फिल्मको युगमा सबैभन्दा रचनात्मक र प्रभावशाली व्यक्तित्व थिए उनी ।

‘च्याप्लिन : अ लाइफ’ नामक पुस्तकको समीक्षामा मार्टिन सिएफ्फले लेखेका छन्, ‘च्याप्लिन ठूला मात्र थिएनन्, विराट थिए ।’ पहिलो विश्वयुद्धपछि विश्व जसरी आतंकको छायाँमा काँपिरहेको थियो, त्यही बखत चार्ली च्याप्लिन हास्य-विनोदको राहत प्याकेज लिएर प्रकट भएका थिए । उनले आफ्नो जीवनकालभर विश्वलाई स्वस्थ मनोरञ्जन दिइरहे । चाहे त्यो महामन्दीमा होस् वा हिटलरको चरम युगमा । सिनेमाको पर्दामा उनी बोलेनन् । नबोलेरै पनि सबैलाई हँसाए, आफ्नो रसिक भावभंगीको भरमा । ‘स्ल्यास्टिक कमेडी’बाट उनले आफूलाई महान हास्य अभिनेताको रुपमा स्थापित गरे ।

उनको निजी जीवनमा अति प्रशंसा र विवाद दुवै सामेल छ । उनको जीवन नै नाटकीय रह्यो । आफ्ना फिल्ममा काम गर्ने अधिकांश अभिनेत्रीसँग उनको प्रेम सम्बन्ध हुन्थ्यो । सन् १९१८ मा अर्थात १६ वर्षको उमेरमै चार्लीले विवाह गरेका थिए, मिल्ड्रेड हरिससँग । तर, यो विवाह दुई वर्षसम्म मात्र कायम रह्यो । त्यसपछि उनले अर्की अभिनेत्री लीता ग्रेसँग दोस्रो विवाह गरे । उनले च्याप्लिनसँग  एक फिल्ममा काम गरे, दी गोल्ड रश । त्यसपछि उनी गर्भवती भइन् । उनीहरुबाट दुई छोरा जन्मिए । जबकि उनीहरु एकअर्कासँग खुसी थिएनन् । त्यसैले दुवैले सम्बन्ध विच्छेद गरे ।

उनी एक हलिउड हास्य अभिनेता र निर्देशकको रुपमा प्रख्यात भए । उनी सर्वाधिक चर्चित कलाकार हुनका साथै अमेरिकी सिनेमाको क्लासिक हलिउड युगको प्रारम्भबाट मध्यसम्म एक महत्वपूर्ण फिल्म निर्माता, संगीतकार र संगीतज्ञ थिए । आयमिक क्षमता भएका चार्लीले फिल्ममा अभिनय मात्र गरेनन्, निर्देशन, पटकथा लेखन, निर्माण र संगीतको काम समेत गरे ।

सन् १९९५ मा अस्कर अवार्डको बखत द गार्जियन अखबारको एक सर्वेक्षणमा फिल्म समीक्षक र दर्शकलाई सोधिएको थियो, ‘सबैभन्दा मनपर्ने हिरो को हो ?’ यसको नतिजा आश्चर्यलाग्दो थियो । किनभने चार्लीको मृत्युको दशक पछि पनि अधिकांशको ‘मनपर्ने हिरो’मा उनी सूचीकृत थिए ।

सन् १९७७ डिसेम्बरको २५ मा स्विटजरल्यान्डको कोर्सिएर सुर वेवेस्थित घरमै उनको मृत्यु भयो ।  

यसरी , कष्ट र अभावको धरातलबाट उठेर उनी  विश्वभर कहलिए । हास्य-कलाकारिताको विराट आयामलाई  स्थापित गरिदिए ।

 

 

Comments

Back to top