एनआईसी एशियाको मोबाइल बैंकिङमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना सार्वजनिक
एनआईसी एशिया बैंकले नेपालीहरुको महान पर्व दसैँ, दीपावली, नेपाल सम्वत् तथा छठको शुभ अवसरमा मोबाइल बैंकिङ एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने योजना सार्वजनिक गरेको हो।
बैंकले यही भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म संचालन हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकले एनआईसी एशिया मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन्। यस अफर मार्फत बैंकका ग्राहकले आफ्नो परिवार, आफन्त वा साथीहरुलाई सहज रुपमा रकम पठाउन सक्नेछन्।
यस अफरअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने बैंकले जनाएको छ। यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मोबैंकभित्र रहेको ‘आईरेमिट’ आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्। यसरी दैनिक अधिकतम रु. २५ हजारसम्म रकम पठाउन सकिनेछ। यसरी पठाएको रकम देशभर रहेका एनआईसी एशिया बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिनेछ।
यस्ता आकर्षक अफर दिने एनआईसी एशिया बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत सेवा दिने मुलुककै सबैभन्दा ठूलो शाखा विस्तार भएको बैंक बनेको छ।
Comments