जे.आर.डी टाटा: एक महान र जिद्दी उद्योगपतिको अद्भुत कहानी !
जहांगीर रतनजी दादाभोय टाटा (जे.आर.डी टाटा) एक गैर-आवासीय भारतीय थिए जसले पछि भारतीय नागरिकता अपनाएका थिए । उनी एक एविएटर, उद्योगपति र टाटा समूहका अध्यक्ष थिए।
भारतको टाटा परिवारमा जन्मेका उनी प्रख्यात व्यापारी रतनजी दादाभोय टाटा र उनकी पत्नी सुजैन ब्रियरका छोरा थिए। उनकी आमा कार चलाउने भारतको पहिलो महिला थिइन् ।
सन् १९२९ मा टाटा भारतको पहिलो लाइसेन्स प्राप्त पाइलट बनेका थिए। उनी टाटा ग्रुप अन्तर्गत टाटा कन्सल्टेन्सी सर्भिसेज, टाटा मोटर्स, टाइटन इन्डस्ट्रिज, टाटा साल्ट, भोल्टास र एयर इन्डिया जस्ता धेरै उद्योगहरूको संस्थापकको रूपमा पनि चिनिन्छन्। सन् १९८३ मा उनलाई फ्रेन्च लिजन अफ अनर र सन् १९५५ र १९९२ मा पद्म विभूषण र भारत रत्न जस्ता भारतका दुई सर्वोच्च नागरिक पुरस्कारबाट सम्मानित गरिएको थियो। यो सम्मान उनलाई भारतीय उद्योगमा उनको योगदानको लागि प्रदान गरिएको थियो।
टाटाको जन्म २९ जुलाई १९०४ मा फ्रान्सको पेरिसमा एक गैर आवासीय भारतीय पारसी परिवारमा भएको थियो। उनका बुबा भारतका अग्रणी उद्योगपति जमशेदजी टाटाका जेठा भाइ थिए।
उनको आमा फ्रेन्च भएकोले, उनले आफ्नो बाल्यकालको धेरै समय फ्रान्समा बिताए र परिणामस्वरूप, फ्रान्सेली उनको पहिलो भाषा बन्यो। उनले पेरिसको जेनसन डी सेली स्कूलमा अध्ययन गरे।
उनी सन् १९२५ मा टाटा सन्समा प्रशिक्षार्थीको रूपमा सामेल भएका थिए। सन् १९३८ मा, ३४ वर्षको उमेरमा, टाटा सन्सको अध्यक्ष चुनिए । यसरी, उनी भारतको सबैभन्दा ठूलो औद्योगिक समूहको प्रमुख बने। दशकौंसम्म उनले स्टील, इन्जिनियरिङ, पावर, केमिकल्स र हस्पिटालिटीमा प्रमुख चासो राख्ने टाटा ग्रुपका विशाल कम्पनीहरूलाई निर्देशन गरे। उनी उच्च नैतिक मानकहरू कायम राख्दै व्यवसायमा सफल हुनका लागि प्रसिद्ध थिए । उनले राजनीतिज्ञहरूलाई घूस दिन वा कालो बजार प्रयोग गर्न इन्कार गर्थे।
उनको अध्यक्षतामा, टाटा समूहको सम्पत्ति १०० मिलियन अमेरिकी डलरबाट बढेर ५ बिलियन अमेरिकी डलर भन्दा बढी पुगेको थियो। उनले आफ्नो नेतृत्वमा १४ उद्यमहरू सुरु गरे र आधा शताब्दी पछि २६ जुलाई १९८८ सम्म टाटा सन्स ९५ उद्यमहरूको एक समूह बनेको थियो ।
उनी सन् १९३२ मा स्थापना भएको सर दोराबजी टाटा ट्रस्टका ट्रस्टी थिए। उनको मार्गदर्शनमा यस ट्रस्टले सन् १९४१ मा एशियाको पहिलो क्यान्सर सुविधा, टाटा मेमोरियल सेन्टर फर क्यान्सर, रिसर्च एण्ड ट्रिटमेन्ट, बम्बईको स्थापना गरेको थियो। उनले टाटा इन्स्टिच्युट अफ सोसियल साइन्सेज (टीआईएसएस, १९३६), टाटा इन्स्टिच्युट अफ फन्डामेन्टल रिसर्च (टीआईएफआर, १९४५) र नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको स्थापना पनि गरेका थिए ।
सन् १९४५ मा उनले टाटा मोटर्सको स्थापना गरेका थिए । सन् १९४८ मा, टाटाले एयर इन्डिया इन्टरनेसनललाई भारतको पहिलो अन्तर्राष्ट्रिय एयरलाइनको रूपमा सुरु गरेको थियो। सन् १९५३ मा, भारत सरकारले टाटालाई एयर इन्डियाको अध्यक्ष र इन्डियन एयरलाइन्सको बोर्डमा एक निर्देशकको रूपमा नियुक्त गरेको थियो ।
टाटाले आफ्ना कामदारहरूको धेरै ख्याल राख्थे। सन् १९५६ मा, उनले कामदारहरूलाई कम्पनीको मामिलामा बलियो आवाज दिन 'व्यवस्थापनसँग कर्मचारी संघ' को एक कार्यक्रम शुरू गरे। उनी कर्मचारी कल्याणमा दृढ विश्वास गर्थे ।उनले आठ घण्टा काम गर्ने दिन, नि: शुल्क चिकित्सा सहायता, कामदारहरूको सञ्चय योजना र कामदारहरूको दुर्घटना क्षतिपूर्ति योजनाहरूको सिद्धान्तहरूको समर्थन गरे, जुन पछि भारतमा वैधानिक आवश्यकताको रूपमा अपनाइयो।
सन् १९९३ नोभेम्बर २९ मा स्विट्जरल्याण्डको जेनेभामा ८९ वर्षको उमेरमा टाटाको निधन भएको थियो । उनले आफ्नो निधन हुनुभन्दा केही दिन अघि "कम्मे सीस्ट डक्स डे मौरिर" ("मर्नु कति कोमल छ") भनेर भनेका थिए।
उनको मृत्युपछि, उनको सम्झनामा भारतीय संसद स्थगित गरिएको थियो । यो सम्मान सामान्यतया संसदको सदस्य नभएका व्यक्तिहरूलाई दिइँदैन।
सन् २०१२ मा, आउटलुक म्यागजिनको सर्वेक्षणमा टाटालाई छैटौं "द ग्रेटेस्ट इन्डियन" को रूपमा स्थान दिइएको थियो ।
Comments