रोयल इन्फिल्ड बाइकको सफलताको कथा !
रोयल इन्फिल्डको नाम नसुनेका सायदै कोही बाइक-प्रेमी होलान् ! स्टाइलिश लुक भएको यो बाइक संसारभरि नै प्रसिद्ध छ। आउनुहोस् आज यसै रोयल इन्फिल्डको सफलताको कथा जानौँ ।
रोयल इन्फिल्डका बाइकहरू भारतमा सन् १९४९ देखि बिक्रीमा आएको थियो। सन् १९५४ मा भारत सरकारले पाकिस्तानी सीमानामा प्रहरी र सेनाको गस्तीका लागि ८०० वटा मोटरसाइकल अर्डर गरेको थियो। यो अर्डर बेलायतको इन्फिल्ड साइकल कम्पनीलाई ‘बुलेट ३५०’ को लागि दिइएको थियो। यो, त्यो समयको ठूलो परिमाणको अर्डर थियो। यी बाइकहरू कम्पनीको रेडिच प्लान्टमा निर्माण गरिएको हो। साँच्चै भन्नु पर्दा भारतमा ‘बुलेट’ (भारतीय बुलेट मोटरसाइकल) को यात्रा यहीँबाट सुरु भएको थियो। यो बल्क अर्डर पछि, बेलायतको रेडिच कम्पनीले १९५५ मा भारतको मद्रास मोटर्ससँग मिलेर ३५० सीसी बुलेटहरू एसेम्बल गर्नको लागि एउटा कम्पनी गठन गर्यो– ‘इन्फिल्ड इन्डिया’।
यसअघि बेलायती कम्पनी रोयल इन्फिल्डले ‘बुलेट’ बनाउँदै आएको थियो। सन् १९७१ मा बेलायती कम्पनी बन्द भएपछि भारतीय निर्माताले ‘बुलेट’ को अधिकार किनेका थिए। तर, सन् १९७० देखि १९८० को बीचमा रोयल इन्फिल्डको व्यवस्थापनले यस्ता धेरै निर्णय लिएका थिए जसका कारण कम्पनी भारी ऋणमा डुबायो। यससँगै सन् १९९० मा सीडि १०० को आगमनले रोयल इन्फिल्डलाई पनि झट्का लाग्यो। बुलेट लगभग बजार हराइसकेको थियो। १९९४ मा, आइशरले बुलेटमा विश्वास व्यक्त गर्दै कम्पनी किन्यो।
सन् २००० मा आइशर ग्रुपलाई घाटा भयो। ग्रुपका वरिष्ठ अधिकारीहरूको विचारमा रोयल इन्फिल्डलाई बेच्ने वा बन्द गर्ने सही निर्णय थियो। ग्रुपको यो विभागलाई २० करोड घाटा भएको थियो। विक्रमलालका छोरा सिद्धार्थलालले सो विभागलाई नाफामा ल्याउन २४ महिनाको समय मागेका थिए। सिद्धार्थ डिभिजनको प्रमुख बने र पहिले उनले जयपुरको नयाँ इनफिल्ड प्लान्ट बन्द गरे। त्यसपछि डिलर छूट अन्त्य गरे, जसले कम्पनीलाई प्रत्येक महिना ८० लाख रुपैयाँ भार परिरहेको थियो। केही वर्षअघि सिद्धार्थलालले भनेका थिए, ‘गर या मर’ को अवस्थाका कारण मैले कडा निर्णय लिनुपरेको थियो।’
त्यसपछि सिद्धार्थलाल र उनको टोलीले मोटरसाइकलको अर्थ लामो दूरी सम्म रमाइलो गर्नु हो भन्ने महसुस गरे। सिद्धार्थले अर्को बजार वा खण्डमा प्रवेश गर्नु भन्दा हाल भएको ब्रान्डलाई बलियो बनाउने प्रयास गर्ने निर्णय गरे। त्यसबेला सिद्धार्थले भनेका थिए, ‘यी बाइकको बजार नभए पनि हामी यसलाई अगाडि बढाउँछौँ। चाहे यसको बजार स्थापना गर्न हामीलाई अझै १० वर्ष नै किन नलागोस्।’ सिद्धार्थले सहरका १८ देखि ३५ वर्षका युवाहरूलाई लक्षित गर्दै सन् २००१ मा ३५० सीसीको बुलेट इलेक्ट्रा लन्च गरे। यसलाई विभिन्न रंग र इलेक्ट्रोनिक इग्निशनसहित लन्च गरिएको थियो। यसको बजारीकरण एक युवा मोटरसाइकल रूपमा गरिएको थियो।
इलेक्ट्राको सफलता पछि, कम्पनीले २००२ मा थन्डरबर्ड लन्च गर्यो। यो सीरियस मोटरसाइकल सेग्मेन्टको लागि ल्याइएको थियो। ब्रेक र गियरको स्थिति सामान्य मोटरसाइकलमा जस्तै दिइएको थियो। यसअघि बुलेटको ब्रेक दायाँ खुट्टामा र गियर बायाँ खुट्टामा थिए। त्यसमा केही परिवर्तन गरियो र त्यसपछि सन् २००२ देखि यात्रा जारी रह्यो। कम्पनी नाफामा पुग्यो र रोयल इन्फिल्डका नयाँ बाइकहरू भारतीय बजारमा एकपछि अर्को गर्दै आइरह्यो। यसअघि सिद्धार्थले चेन्नईमा १५० करोडको लगानीमा नयाँ प्लान्ट खोलेका थिए, जसमा वार्षिक ३ लाख मोटरसाइकल उत्पादन गर्ने क्षमता थियो। सन् २००९ मा क्लासिक ३५० र ५०० लन्च गरिएको थियो। त्यस्तै, क्याफे रेसर ५३५ सीसी ‘कन्टिनेन्टल जीटी’ सन् २०१३ को अन्त्यमा लन्च गरिएको थियो।
सिद्धार्थले रिटेल आउटलेट र मार्केटिङमा धेरै ध्यान दिएका छन्। उनले यस्ता आउटलेटहरू खोलेका छन् जहाँ बाइक खरिदकर्ताहरूलाई राम्रो अनुभव लिन सक्छन्। रोयल इन्फिल्डले बाइकर्सका लागि विभिन्न यात्राको पनि आयोजना गर्दै आइरहेको छ। कम्पनीले २०१२ मा ८१ हजार ४६४ मोटरसाइकल बेचेको थियो, जबकी २०१३ मा १ लाख २३ हजार १८ वटा बिक्री भएको थियो अर्थात ५१ प्रतिशत वृद्धि भएको थियो।
यसरी, साइकलदेखि सुरु भएको यात्रा मोटरसाइकलको प्रिमियम ब्राण्डसम्म पुगेको छ। रोयल इन्फिल्डले धेरै संघर्ष गरेर यहाँसम्म आएको हो। यसकारण, संघर्ष गर्नेले सफलता अवश्य पाउँछ भन्ने कुरा रोयल इन्फिल्डको कथाले देखाउँछ।
Comments