माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केटलाई दियो ‘नेपाल पे’ क्यूआर कोड !
माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ।
नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङलाई एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाद्वारा हस्तान्तरण गरिएको हो।
नेपाल पेको क्यूआर सेवा सुरु भएसँगै ग्राहकले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सीधै आफ्नो बैंक खाताबाट एम–स्मार्ट मार्फत भुक्तानी गर्न सक्नेछन्।
आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकका साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधाका कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ। यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।
Comments