आयात कडाइले गर्दा बजारमा तस्करी गरी ल्याईएका मोबाइलको बिगबिगी !
सरकारले मोबाइल आयातमा कडाइ गरेपछि बजारमा अवैध मोबाइलको बिगबिगी बढेको छ । गत बैशाखदेखि ६०० डलर माथिका मोबाइल आयात प्रतिबन्ध लगाएको सरकारले साउनदेखि ३०० डलर माथिका मोबाइलमा समेत कडाइ गरेपछि बजारमा कालोबजारी बढेको हो ।
मोबाइल आयातकर्ता संघको स्टिकर सहितको आधिकारीक फोन भन्दा पनि तस्करीबाट नेपाल भित्रिएका मोबाइलको व्यापार बढेको देखिएको छ ।
व्यवसायीका अनुसार मोबाइल आयातमा प्रतिबन्ध नहुँदा ३५ प्रतिशत स्मार्टफोन चोरी पैठारीको माध्यमबाट आइरहेकोमा आयातमा कडाइ गरेपछि ७० प्रतिशत मोबाइल फोन चोरी पैठारीको माध्यमबाट खुलमखुल्ला बिक्री भइरहेका छन् ।
अझ साउन यता मिडरेन्जका मोबाइलमा समेत आयातम रोक लागेपछि अवैध फोनको बिक्री नियन्त्रण गर्ने नसक्ने अवस्थामा पुगेको व्यवसायीको दाबी छ ।
मोबाइल आयातकर्ता संघ नेपालका उपाध्यक्ष सञ्जय अग्रवालले अत्यावश्यक मोबाइल फोनलाई ४ महिनादेखि कडाइ गरेपछि सरकार अवैध मोबाइल आयातको संरक्षक जस्तै देखिएको बताए ।
बजारमा अहिले मिडरेन्जका फोनहरु ग्रे मार्केटबाट आएका मात्रै पाइने गरेको व्यवसायीको आरोप छ । अवैध मोबाइल आयातलाई रोक्ने कुनै संयन्त्र नबन्दा राज्यलाई बार्षिक १० अर्ब भन्दा बढी रकम गुम्दै आएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले साउन भित्रै मोबाइल बजारलाई नियामन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने बताए पनि व्यवसायीले सो प्रणाली लागु नहुने निष्कर्षमा पुगिसकेको छ । २०७६ साउनबाटै लागु हुनुपर्ने एमडिएमएस प्राधिकरणले ठेक्का दिएको कम्पनीले हालसम्म पनि आवश्यक उपकरण आपूर्ति गर्न सकेको छैन ।
Comments