डलर कार्डबाट १५ महिनामा बाहिरियो ८८ करोड !
डलर कार्डबाट १५ महिनामा ८८ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असारसम्म ३८ हजार ६६ वटा डलर कार्ड जारी भएका छन् ।
वाणिज्य बैंक र विकास बैंकले उक्त कार्ड जारी गर्न पाउने व्यवस्था छ । हालसम्म २३ वटा वाणिज्य बैंकले मात्र कार्ड जारी गरेका छन् ।
ती कार्डमा ९३ लाख ८५ हजार अमेरिकी डलर (करिब १ अर्ब १९ करोड १९ लाख रुपैयाँ) भरिएको (लोड गरिएको) छ । भरिएको मध्ये ६१ लाख ३३ हजार अमेरिकी डलर (करिब ७७ करोड ८८ लाख ९१ हजार रुपैयाँ) खर्च भएको राष्ट्र बैंकले जनाएको छ । ०७८ असारसम्म ८ हजार ४ सय ९३ वटा कार्ड जारी भएका थिए । ती कार्डमा १६ लाख ६८ हजार अमेरिकी डलर लोड भएकामा ४ लाख ८९ हजार डलर खर्च भएको थियो ।
०७७ चैतदेखि डलर कार्डबाट भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यसकारण ०७८ असारसम्म थोरै कार्ड जारी भएको र रकम पनि कम खर्च भएको देखिएको थियो । तर गत असारसम्म आइपुग्दा डलर कार्डबाट मात्र करिब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा बाहिरिएको छ । आन्तरिक प्रयोजनका लागि राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले ‘अमेरिकी डलरमा भुक्तानी गर्न मिल्ने प्रिपेड कार्डबाट भएको कारोबार सम्बन्धमा’ विस्तृत अध्ययन गरेको छ ।
सर्वसाधारणका लागि सार्वजनिक नगरिएको उक्त अध्ययनमा गत चैतसम्मको तथ्यांक समावेश गरिएको छ । प्रतिवेदनले डलर कार्ड प्रयोगकर्तामध्ये २० देखि ३० वर्ष उमेर समूहका र त्यसपछि ३० देखि ४० वर्ष उमेरका नागरिक धेरै रहेको पनि औंल्याएको छ । कार्डको उपयोग संस्थागतभन्दा पनि व्यक्तिगत धेरै रहेको पनि अध्ययनले औंल्याएको छ ।०७७ चैतदेखि नेपालबाटै अनलाइनमार्फत अमेरिकी डलरमा प्रिपेड कार्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको थियो ।
Comments