तरलता अभावका बीच पनि बैंकहरूको खुद नाफामा उल्लेख्य वृद्धि !
गत आर्थिक वर्षको सुरुवाती २-३ महिनाबाटै नेपाली बैंकिंग क्षेत्रमा तरलता अभाव देखिएको थियो । यो समस्या नयाँ आर्थिक वर्ष शुरु हुँदा पनि यथावत नै छ । गत आर्थिक वर्षको पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाको नयाँ कर्जा प्रवाह ठप्प नै भयो । यस बीचमा पनि बैंकहरुको खुद नाफामा भने वृद्धि भएको देखिन्छ ।
गत आर्थिक वर्ष वाणिज्य बैंकहरूको खुद नाफा करिब २३ प्रतिशतले वृद्धि भएको छ । लगानीयोग्य रकम नभएकाले बजार मागअनुसार कर्जा प्रवाह गर्न नसकेको समयमा पनि बैंकहरुको नाफामा वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंकहरूको खुद नाफा करिब २० प्रतिशतले मात्र बढेको थियो ।
गत आर्थिक वर्षमा तीव्र रूपमा व्यवसाय विस्तार गरेर भन्दा पनि उत्कृष्ट पोर्टफोलियो व्यवस्थापनमार्फत बैंकहरूले अपेक्षाभन्दा राम्रो नाफा आर्जन गरेको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताउँछन् ।
गत आर्थिक वर्षमा धेरैजसो बैंकको ब्याज आम्दानी बढेको पनि उपाध्यायको भनाइ छ । गत आर्थिक वर्षमा केही बैंकको कर्जा असुली राम्रो भएकाले पनि नाफा वृद्धिमा टेवा पुगेको उहाँ बताउनुहुन्छ । गत आर्थिक वर्षमा २६ वटा वाणिज्य बैंकले कुल ७४ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षको खुद नाफा औसत २३.१४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा (त्यति बेला) सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले ६० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
Comments