ब्याजदर बढ्न नदिन राष्ट्रबैंक आफैँले किन्यो ट्रेजरी बिल !

नेपाल राष्ट्र बैंकले ब्याजदर बोलकबोलमा बैंकहरुले मनोमानी गरेपछि ट्रेजरी बिलको ठूलो हिस्सा आफैँले खरिद गरेको जानकारीमा आएको छ।

राष्ट्र बैंकले सोमबार नवीकरणका लागि ९१ दिने ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गरेको थियो। तर, बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बोलकबोलमा जथाभावी गरेपछि राष्ट्र बैंक आफैँले ट्रेजरी बिल खरिद गरेको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए। ‘ट्रेजरी बिलको ब्याजदरमा जथाभावी हुन थालेपछि त्यसलाई निरुत्साहित गर्न राष्ट्र बैंक आफैँले खरिद गरेको हो’, ती अधिकारीले भने।

ती अधिकारीका अनुसार ९१ दिने ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाहरुले १० अर्ब ३ करोडको बोलकबोल पेस गरेका थिए । ‘राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थालाई १२ करोड रुपैयाँको मात्रै ट्रेजरी बिल नवीकरण गरेको छ’, ती अधिकारीले भने, ‘बाँकी ४ अर्ब ९० करोड रुपैयाँ ट्रेजरी बिल आफैँले खरिद गरेको छ।’

यसैगरी १८२ दिने ट्रेजरी बिलमा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई १० करोड रुपैयाँको मात्रै नवीकरण गरेको छ भने र ४ अर्ब ९० करोड रुपैयाँ आफैँले खरिद गरेको छ । यसमा बैंक तथा वित्तीय संस्थाहरुले ६ अर्ब ३१ करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए ।

आजबाट जारी भएको ट्रेजरी बिलको ब्याजदर पनि घटेको छ। जसअनुसार ९१ दिनको ट्रेजरी बिलको ११.६९ प्रतिशत र १८२ दिने ट्रेजरी बिलको १०.९९ डिस्काउन्ट रेट कायम भएको छ।

यसअघि गत साउन १० मा जारी ९१ दिने ट्रेजरी बिलमा बोलकबोल गर्दा औसत १२ प्रतिशत डिस्काउन्ट रेट कायम भएको थियो ।

पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले चालेको यो कदमको स्वागत गरेका छन्। उनले फेसबुक स्ट्याट्समा लेखेका छन्–‘ब्याजदर अत्याधिक बढ्न नदिन राष्ट्र बैंकले लिएको यो कदम स्वागतयोग्य छ।’

Comments

Back to top