आइतबार साँझसम्म भाडा नबढाए पेट्रोलियम ढुवानी ठप्प पार्ने ढुवानी व्यवसायीको चेतावनी

पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम ढुवानीको भाडा बढाउन नेपाल आयल निगमलाई आइतबार साँझसम्मको अल्टिमेटम दिएको छ। भाडा नबढे साउन २१ गतेबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने महासंघले चेतावनी दिएको छ।

महासंघद्वारा जारी विज्ञप्तिमा बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिँदा आफूहरुलाई नोक्सानी भएको जनाइएको छ। सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने विज्ञप्तिमा विज्ञप्तिमा चेतावनी दिइएको छ।

महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। जसअनुसार ढुवानी भाडा वृद्धि नभए साउन १६ गतेबाट हवाई इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने, साउन २० गतेबाट सबै खाले इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने तथा साउन २१ गतेबाट देशैभरको पेट्रोलियम ढुवानी रोक्ने कार्यक्रम छ।

महासंघले ३ देखि १० प्रतिशतसम्म भाडा वृद्धि हुनुपर्ने जनाएको छ। निगमले भने पेट्रोलियम पदार्थजस्तो संवेदनशील वस्तुको ढुवानी रोकिँदा अवस्था जटिल बन्ने भन्दै महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।

Comments

Back to top