फास्टट्रयाकमा विकास निर्माणको काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन
वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताएका छन् ।
भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्लगायतसँगको छलफलका क्रममा मन्त्री यादवले भरतपुर महानरपालिकाले अपनाएको विकासको मोडल देशकै लागि नमूना भएको बताए ।
पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्यासित ढङ्गले भएको विकासले सबै आश्चर्यचकित भएको बताउँदै मन्त्री यादवले यसबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने उनको भनाई छ ।
यसअघि माडी र हुलाकी सडकको अनुगमन गरेको स्मरण गर्दै मन्त्री यादवले हुलाकी सडक बिस्तारमा वनबाट भएका अवरोधलाई हटाएर चितवन र पर्सालाई जोड्ने हुलाकी सडक निर्माणको गतिलाई तिव्रता दिनुपर्ने बताए ।
वन मन्त्रालयबाट अनुमती नपाएर अगाडि बढ्न नसकेका सम्पूर्ण काम आवश्यक अध्ययन र प्रक्रिया पश्चात फास्टट्र्याकमा गर्दै विकास निर्माणको काममा भएका वाधाहरूको समाधान गर्न मन्त्रालयका कर्मचारीहरुलाई उनले निर्देशन पनि दिएका छन् ।
हुलाकी सडक निर्माण भएसँगै पर्सा राष्ट्रिय निकुञ्ज भएर ठोरीसम्म पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि हुने र यसले पर्यटन व्यवसाय गर्नेहरुलाई रोजगारीको सृजना गर्ने मन्त्री यादवको विश्वास छ । मन्त्री यादवले भरतपुर महानगरसहित समग्र चितवन जिल्लाको समृद्धिका लागि वन मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
भरतपुरकी मेयर रेणु दाहालले भरतपुरमा रहेको नगर वनको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने प्रस्ताव राखे । नगर वनलाई अन्तराष्ट्रिय स्तरको पार्क बनाउने आफ्नो योजना रहेको बताएका थिए । त्यस्तै उनले भरतपुरको भविष्यसँग जोडिएको ट्र्याल सेन्टरसहित यातायात कार्यालय स्थापनाको काम पनि वन मन्त्रालयमार्फत काम अगाडि बढाउन अनुरोध गरे ।
Comments