विराटनगर–वथनाह मालवाहक रेल संचालनमा ल्याउने सहमति

भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे संचालन पूर्व तयारीका सम्वन्धमा उद्योग संगठन मोरङमा भएको वैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्व संचालनमा ल्याउने वताए ।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे संचालनले राहत दिने वताए । यस क्षेत्रबाट भईरहेको नेपाल भारत वीचको व्यापार अभिवृद्धिमा यो परियोजना कोशेढुंगा सावित हुने वताउँदै उनले स–साना वाधा व्यवधानलाई अविलम्व समाधान गरी मालवाहक रेल्वे संचालनमा ल्याउन भारत र नेपाल पक्षका अधिकारीलाई आग्रह गर्दै निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको वताए ।

भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एसके चौधरीले १८ दशमलव ६ किलोमिटर लम्वाई भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको वताउँदै नेपाल र भारत सरकार वीच प्राविधिक र प्रशासनिक प्रकृया पुरा भएको १० देखि १५ दिनमा कार्गो रेल संचालनमा ल्याउन सकिने वताए । उनले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक वजेटका लागि अनुरोध गरेको जानकारी दिदै उक्त सेन्टरको निर्माण पश्चात अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थपिने जानकारी दिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशिय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल संचालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृयाका पुरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने वताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने वताए । छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात निर्यातमा समस्या आउदा राजश्व संकलन समेत प्रभावित भएको जनाउदै कार्गो रेल संचालनमा ल्याउन भन्सारको सहयोग रहने वताए । नेपालको रेल विभागका ईन्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणधिन परियोजनाको प्राविधिक पक्ष परिक्षण गरी अन्य प्रशासनिक प्रकृया पुरा गरे पश्चात विराटनगर वथनाह रेल संचालनमा आउने वताउँदै त्यसको लागि तयारी भइरहेको जानकारी गराए ।

संगठनका वरिष्ठ उपाध्याक्ष प्रदिप मुरारकाले यस क्षेत्रका ईडिवल आयल उत्पादन गर्ने उद्योगहरुका कच्चा पदार्थ स्टोर गर्न आफनै खर्चमा टेंक निर्माण गर्न तयार रहेको वताउदै त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजर समक्ष अनुरोध गरे । संगठनका पूर्वअध्यक्ष किशोर प्रधान र अशोक मुरारकाले जोगवनी रेल्वे यार्डमा पानि जम्नुका साथै नेपालको मालसमान रातीका समयमा अनलोड गर्न समस्या भइरहेको वताए ।

संगठनका पूर्वउपाध्यक्ष एव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुहरुको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नया रेल थप्नु पर्नेमा जोड दिए ।

छलफलमा संगठनका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, भारतीय रेल्वे, जोगवनी आईसिपि, नेपाल रेल्वे विभाग, नेपाल आईसिपिका प्रतिनिधि लगायत उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Comments

Back to top