पुँजी वृद्धिको लागि धमाधम मर्जरमा जाँदै बीमा कम्पनी
पछिल्लो समय बीमा कम्पनीहरूबीच धमाधम मर्जर तथा एक्विजिसन हुन थालेको छ । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुले मर्जरको बाटो अवलम्बन गर्न थालेका हुन् ।
बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिको दबाबमा छन् । समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो । समितिको नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।
तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ । समितिले बीमा कम्पनीहरूलाई हकप्रद निष्कासन गर्न बन्देज गरेको छ । हकप्रद सेयर निष्कासन गर्न बन्देज गरेका कारण कम्पनीहरूलाई बोनस सेयरबाट मात्रै पुँजी बढाउन कठिन छ ।
कम्पनीहरूले अहिले समितिसमक्ष पुँजी वृद्धिको योजना पनि पेश गरिसकेका छन् । कम्पनीहरूले पुँजी वृद्धिका लागि हकप्रद र मर्जर तथा प्राप्ति लगायत विकल्पहरू अगाडि सारेका छन् ।
बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी पुर्याउन पत्राचार गरिसकेको छ । कम्पनीहरूले एक वर्षभित्र पुँजी पुर्याइ सक्नुपर्नेछ ।
हालसम्म १७ वटा बीमा कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा हस्तारक्षर गरेका छन् । जसमा ८ निर्जीवन र ९ जीवन बीमा कम्पनी रहेका छन् ।
हालसम्म निर्जीवनतर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल, सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच प्रारम्भिक मर्जर सम्झौता भइसकेको छ ।
यस्तै, हिमालयन जनरल र एभरेष्टले आगामी आइतवारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । जीवनतर्फ प्राइम लाइफ, गुराँस लाइफ र युनियन गाभिँदै छन् । सूर्या लाइफ र ज्योति लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जरमा जाने सहमति गरेका छन् ।
यस्तै, प्रभु लाइफ र महालक्ष्मी लाइफले पनि मर्जरमा जाने निर्णयमा पुगेका हुन् । नेपालमा २० निर्जीवन बीमा र १९ जीवन बीमा गरी कुल ३९ वटा कम्पनीले बीमा व्यवसाय गर्दै आएका छन् ।
हालसम्म सम्झौता वा समझदारीपत्रमा हस्ताक्षर गरेका कम्पनीहरू मर्ज भइसकेपछि जीवनतर्फ ४ र निर्जीवनतर्फ ४ कम्पनीको संख्या घट्ने छ । सहमति वा सम्झौता गरिसकेका कम्पनी गाभिएपछि निर्जीवनतर्फ १६ र जीवनतर्फ १५ गरी ३१ वटा कायम हुनेछ ।
समितिले पुँजी वृद्धिको योजना ल्याएपछि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पहिलो पटक मर्जरमा जाने सम्झौता गरेका थिए । वैशाख २२ गते हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले एक आपसमा गाभ्ने÷गाभिने सहमति गरेका थिए ।
त्यसको एक हप्ता नवित्दै ३ जीवन बीमा कम्पनीले मर्जरको सम्झौता गरेका थिए । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए ।
यस्तै, असार १२ गते ज्योति लाइफ र सूर्या लाइफबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले असार २७ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
यस्तै, सानिमा लाइफ र रिलायन्स लाइफ, सानिमा जनरल र जनरल इन्स्योरेन्सले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेका थिए । असार ३० गते सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले हस्ताक्षर गरेका थिए ।
Comments