एघार महिनामै २२ अर्बभन्दा बढी मूल्यको मोटरसाइकल आयात !
मुख्य स्थल भन्सार नाकाहरुबाट ११ महिनाको अवधिमा २२ अर्ब रुपैयाँभन्दा बढी मूल्यको मोटरसाइकल र स्कुटर आयात भएको छ ।
तीन मुख्य स्थल भन्सार नाकाहरु भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट चालू आर्थिक वर्षको जेठमसान्तसम्ममा २२ अर्ब ५२ करोड २४ लाख रुपैयाँ मूल्य बराबरको २ लाख २५ हजार ८ सय २ थान मोटरसाइकल तथा स्कुटर आयात भएको हो ।
सबैभन्दा ठूलो परिमाणमा भैरहवाबाट मोटरसाइकल तथा स्कुटर आयात गरिएको छ । भन्सार विभागका अनुसार भैरहवा नाकाबाट ११ महिनाको अवधिमा १७ अर्ब २६ करोड ४२ लाख मूल्य बराबरको कूल १ लाख ६७ हजार ८ सय ८९ थान मोटरसाइकल आयात गरिएको छ ।गत आवको जेठमसान्तसम्मको तुलनामा भैरहवा नाकाबाट भित्रिने मोटरसाइकलको परिमाणमा १४.५८ प्रतिशतले गिरावट आएको छ ।
मोटरसाइकल आयात हुने दोश्रो मुख्य नाका वीरगंजबाट ४१ हजार ९ सय ३० थान मोटरसाइकल आयात भएको छ । यो नाकाबाट जेठसम्ममा ३ अर्ब ६९ करोड ४६ लाख रुपैयाँ मूल्य बराबरको मोटरसाइकल आयात भएको हो । वीरगंज नाकाबाट भित्रिने मोटरसाइकलको परिमाण आधाभन्दा बढीले घटेको छ । गत आवको जेठसम्ममा ९१ हजार ९ सय ६९ थान मोटरसाइकल आयात भएको थियो ।
यी तीन भन्सार नाकाको कूल परिमाणका आधारमा भारत तथा तेश्रो मुलुकमा उत्पादित दुईपाङग्रे सवारीसाधनको आयातमा झण्डै २८ प्रतिशतले ह्रास देखिएकोे छ ।
नेपालभित्रै मोटरसाइकलको पार्टपूर्जा जडान गरेर मोटरसाइकल उत्पादन गर्ने क्रमले तिब्रता पाउनुको साथै पछिल्लो समयमा पूँजी बजारमा तरलताको अभावका कारण मोटरसाइकलको मागमा गिरावट आएकाले आयात पनि घटेको हो ।
Comments