काठमाडौं गौचरणमा पहिलो विमान अवतरण

२००४ फागुन ९ गते देशको प्रधानमन्त्री तथा श्री ३ को रुपमा राणाहरुको तेश्रो पुस्ता अर्थात भीमशम्शेरका छोरा पद्मशम्शेरले देश छोडेर राँची तर्फ लागे ।

जसले गर्दा चन्द्रशम्शेरका छोरा मोहनशम्शेरले प्रधानमन्त्रीको अनुपस्थितीमा सरकार चलाए । तर पद्मशम्शेरले राजिनामा नदिए सम्म प्रधानमन्त्री तथा श्री ३ बन्न नपाएका मोहन शम्शेरले राँचीमा छोरा विजयशम्शेरलाई पठाए । अन्तत २००५ बैशाख १८ मा पद्मशम्शेरले आफ्नो राजिनामा राजा त्रिभुवनलाई पठाए पछि बिधिवत मोहन शम्शेर नेपालको प्रधानमन्त्री तथा श्री ३ बने ।

देशको कायममुकायम प्रधानमन्त्री बनेका मोहन शम्शेरले यातायातको कुनै सडक सञ्जाल नजोडिएको देशमा विमानसेवा सञ्चालन गर्न सकेमा विभिन्न क्षेत्रमा बिकास गर्न सकिने अवधारणा भारतीय राजदुत सुरजीतसिंह मजीठिया सामु गरेका थिए ।

मजीठिया भारतीय वायुसेनाको पूर्व पाइलट रहिसकेको हुँदा उनमा विमानसेवाको सम्भाव्यता सम्बन्धी केही ज्ञान थियो । उनले पशुपति मन्दिरको गौचरणको रुपमा घाँसे समथर भागलाई विमानस्थलको रुपमा परिणत गर्न सकिने सुझाव दिएपछि अझ केही समथर बनाउन लगाए ।

आफ्नो भतिजा भारतीय वायुसेवामा पाइलटको रुपमा कार्यरत रहेको हुँदा भतिजा दलिपसिंह मजीठियालाई विमानको अवतरण सम्बन्धमा सल्लाह गरे । भारतीय प्रधानमन्त्रीको सहमति पाए पछि कायममुकायमको रुपमा प्रधानमन्त्री रहेका मोहन शम्शेरले विमान अवतरणको अनुमति दिए ।

दोश्रो विश्व युद्धको समाप्ती पछि अमेरिकी सरकारले युद्धमा प्रयोग भएका जहाजहरुलाई कवाडीको मोलमा बिक्री गर्न थालेको थियो । यसरी विमान सस्तो मुल्यमा किन्न पाँउदा मजीठिया परिवारले पनि दुइवटा सानो विचक्राफ्ट बोनान्जा ३५ मोडलको विमान खरिद गरेको थियो ।

सामान्य मर्मत पछि दुवै विमान उडाउन योग्य भयो । यो विमान दलिप सिंह मजीठियाले उडाउने गर्दथ्यो । चार जनामात्र अटाउने सानो विमान भारतको बिभिन्न शहरहरुमा उडाइरहेको दलिपसिंहले काठमाडौंमा जहाज उडाउन अनुमति पाए पछि आफ्नै काका नेपालको लागी भारतीय राजदुत सुरजीत सिंह मजीठियालाई काठमाडौबाट दिल्ली लैजानको लागी लिएर आए ।

बैशाखको महिना थियो आकाशमा बादल डम्म लागेको थियो । केही वर्षात भए पनि विमान अवतरण गर्न सक्छु भनेर आँटेका थिए । पहिलो प्रयास विफल भयो । गौचरणको घाँसे मैदानमा बर्षातले गर्दा विमान अवतरण गर्न असहज थियो । आकाशमा फेरी एक दुइ चक्कर लगाए । बिस्तारै जहाज अवतरण गरे । उनको यो दोश्रो प्रयास सफल भयो ।

२००५ को बैशाख ११ गते नेपालको इतिहासमा एउटा कोशे ढुङ्गा गाडियो । नेपालमा पहिलो पटक जहाज अवतरण भयो । यसले बिकासको फड्को मार्ने अडकल काटियो । जहाज अवतरण सफल भएपछि सबैभन्दा पहिले उनको काका भारतीय राजदुत सुरजीत सिंह मजीठियाले उनलाई अंकमाल गरे । राजा त्रिभुवन तथा कायममुकायम प्रधानमन्त्री रहेका मोहन शम्शेर लगायत राणा उच्च पदस्थहरु पनि गौचरण पुगेका थिए । सबैको खुशीको सिमा थिएन ।

यो विमानको अवतरण पछि ठूलो डकोटा विमानको सम्भाव्यताको अध्ययन भयो । जसको फलस्वरुप हिमालयन एभिएशनको डकोटा गौचरणमा सफल अवतरण भयो । खाली आएको यो विमान २००६ फागुन ९ गते काठमाडौबाट कलकत्ताको लागी चार्टर्ड विमानको रुपमा केही यात्रु लिएर फर्कियो ।

तस्विरमा गौचरणमा विमानको छेउमा उभिएको राजा त्रिभुवन तथा विमानको पाइलट दलिपसिंह मजीठियालाई देख्न सकिन्छ । साथै विमानको छेउमा राणा उच्च पदस्थहरु पनि देख्न सकिन्छ । त्यो समय राजा त्रिभुवनलाई जहाज चढेर काठमाडौंको आकाशमा चक्कर काट्न मन लागेको थियो । तर सुरक्षाका कारण मजीठियाले अस्विकार गरेको थियो ।

एजेन्सी

 

Comments

Back to top