रोजा लक्जम्बर्ग - एक लोकप्रिय क्रान्तिकारी मार्क्सवादी नेतृ

रेड रोजा भनेर चिनिने रोजा लक्जम्बर्ग, मार्क्सवादी दार्शनिक, महिलावादी तथा अर्थशास्त्री हुन् । मार्क्सवादी दर्शनमा आधारित लोकतन्त्र, शान्ति र क्रान्तिकारिताको संयोजनबारे उनको विशिष्ट विचारधारा छ ।

रोजा लक्जम्बर्गको मार्क्सवादी र समाजवादी आन्दोलनका साथै महिलावादी आन्दोलनमा पनि विश्वभर चर्चा परिचर्चा भइरहन्छ । लक्जम्बर्ग मार्च महिनामा विश्व श्रमिक महिला दिवस मनाइँदा वा उनको जन्मोत्सव मनाइँदा नेपालमा भने रोजाको त्यति चर्चा भएन । तर उनको जन्मोत्सव तथा विश्व श्रमिक महिला दिवसको अवसरमा मार्च महिना विश्वभर विविध कार्यक्रम गरी क्लारा जेट्किनको साथै रोजा लक्जम्बर्गको संघर्ष र उनका योगदानहरूको समेत बहस र गुणगान गरियो । युवाहरूमाझ लोकप्रिय ४७ वर्षको उमेरमा १५ जनवरी, १९१९ मा जर्मनीको बर्लिन सहरमा हत्या गरिएकी रोजाको मार्च ५, १८७१ मा पोल्याण्डको जमोस्कमा एक यहुदी परिवारमा जन्म भएको थियो ।

कतिपयले मार्क्सवादकै चर्चा गर्दा होस् या महिलावादी आन्दोलनको चर्चा गर्दा होस्, रोजालाई विवादमा समेत ल्याउने गर्दछन् तर उनी निसंदेह मार्क्सवादी तथा श्रमिक महिला आन्दोलनकी एक अग्रणी नेता तथा क्रान्तिकारी व्यक्तित्त्व हुन् ।

क्रान्तिकारिताका कारण देश छोड्नुपर्ने बाध्यता

मार्च ५, १८७१ मा जन्मिएकी रोजाले सानै उमेरदेखि राजनीतिमा प्रवेश गरिन् । अध्ययनमा रुची राख्ने उनी स्नातकमा स्वर्ण जित्न सफल भएपनि क्रान्तिकारी भएका कारण पदक लिन अस्वीकार गरेकी थिइन् ।

पछि उनले १८९७ मा स्वीजरल्याण्ड पुगेपछि पोल्याण्डको औद्योगिक क्रान्ति विषयमा सोध गर्दै कानूनमा विद्यावारिधी समेत प्राप्त गरेकी थिइन् । २८ वर्षको उमेरमा जर्मनीको अङ्गीकृत नागरिकता पाएकी रोजा १६ वर्षको उमेरमा हाई स्कूलमा पढ्दादेखि नै क्रान्तिकारी समूहमा सक्रिय थिइन् ।

उनले स्वीजरल्याण्ड छाड्नुअघि नै वामपन्थी मजदुर पार्टीबाट राजनीति प्रवेश गरिन् । सुरुमा उनी वामपन्थी प्रत्रिकामा सङ्लग्न भइन् । त्यसै समय लियो जोगिच लगायतका साथीहरूसँग मिलेर उनीहरूले पोल्याण्ड र लिथुनियाको समाजवादी प्रजातान्त्रिक पार्टी स्थापना गरे । त्यो पार्टी जारशाही शासनबाट मुक्ति चाहन्थ्यो । यसैकारण उनी प्रहरीको गिरफ्तारीबाट बच्न देश छाडेर एक पादरीको सहयोगमा स्वीजरल्यान्ड फरार भइन् ।

राष्ट्रियताबारे रोजा

रोजाले मार्क्सवादको अध्ययन र सैद्धान्तिक बहसमा जुट्न थालिन् । २३ वर्षको उमेरमा केही समाजवादीहरूसँग मिलेर स्थापना गरेको पोल्याण्डको सामाजिक जनवादी पार्टीमै राष्ट्रियताको सवालमा मतभेद रहेकोले उनी पार्टीबाट अलग भइन् ।

उनको विचारमा राष्ट्रियताको आन्दोलनले अन्ततः पुँजीवादीहरूलाई नै फाइदा पुर्‍याउने गर्दछ । उनको राष्ट्रियताबारेको दृष्टिकोणसम्बन्धी पुस्तक विश्वप्रसिद्ध छ ।

पढाइ सकिसकेपछि उनी जर्मनी फर्किन् । स्वीजरल्याण्डमा सन् १८९८ मा जतिबेला जर्मन क्रान्तिकारीहरूको जमघटको स्थान थियो । उनले जर्मनीमा जर्मन समाजवादी प्रजातान्त्रिक पार्टीमा मार्क्सवादी अर्थशास्त्र पढाउन थालिन् तथा पत्रिकामा समेत सङ्लग्न भइन् । उनलाई सन् १९०५ मा गिरफ्तार गरियो । तर उनले जेलमा रहँदा पनि निरन्तर लेख रचना प्रकाशन गरिन् ।

फरक विचारका कारण विवादमा ल्याउने प्रयास

रोजा लक्जम्बर्गले जर्मनमा लेनिन र ट्राटस्कीसँग भेट भएकी थिइन् । उनीहरू बिच समय-समयमा संवाद हुने गर्दथ्यो । ट्राटस्कीकाअनुसार रोजा र ट्राटस्की बिच स्थायी क्रान्तिको बारेमा एकमत थियो ।

रोजाको महान् क्रान्तिकारी भ्लादिमिर लेनिनसँग भेट भएको थियो । उनले सोभियत क्रान्तिबारे केही फरक टिप्पणी राखिन्, जसका कारण उनलाई अझै पनि विवादित मानिन्छ । उनको फरक विचार क्रान्तिलाई कसरी संगठित र वैचारिक रूपमा अघि बढाउनुपर्छ र मजबुत बनाउन सकिन्छ भन्नेबारे थियो । मुख्य तीन सवालमा उनको फरक विचार रहेको थियो ।

पहिलो सन् १९०४ मा उनले लेनिनको क्रान्तिकारी संघर्षमा मात्र होइन, जर्मन कम्युनिस्ट आन्दोलनमै प्रमुख सवालको रूपमा विकास भएको लेनिनको सर्वाहारावर्गको अधिनायकत्त्व तथा पार्टी संगठनको जनवादी केन्द्रीयताको अवधारणाको आलोचना गरिन् ।

उनको सोभियत क्रान्तिसँगको अर्को मतभेद भनेको क्रान्ति औद्योगिक समाजमा मात्र होइन, अविकसित समाजमा पनि हुनसक्छ भन्ने हो, जसलाई कतिपयले उनको मार्क्सवादको समेत आलोचनाको रूपमा लिने गर्दछन् ।

र, तेस्रो उनी विश्वयुद्धमा शान्तिको पक्षमा उभिइन् न कि युद्धबाट फाइदा उठाउने । पहिलो विश्वयुद्धको समय उनी शान्ति स्थापनाका पक्षमा खुलेर लागिन् । त्यसैका लागि बन्दको आयोजना गर्दा संसद रहेका लियो जोगिचसहित उनलाई जेल सँजाय भयो जबकि जर्मन समाजवादी प्रजातान्त्रिक पार्टी युद्धको पक्षमा लाग्यो ।

रोजाले त्यतिबेला बोल्सेभिक र मेन्सेभिकमा विभाजित सोभियत कम्युनिस्ट आन्दोलनलाई मिलाउने प्रयास गरिन् । रोजालाई बोल्सेभिक र लेनिनको विरुद्ध प्रयोग गरिएको साँचो हो तर यो धेरैपछि मुख्य गरी ट्राटस्की सोभियत निकाला भएपछिको कुरा हो । पछि रोजाको विचारलाई आधार मान्दै स्टालिनमाथि ट्राटस्की र युरोपेली केही कम्युनिस्ट खनिए र तत्कालीन सोभियत क्रान्तिको आलोचना गरे र उनीहरूले पनि रोजालाई सोभियत क्रान्तिको आलोचकको रूपमा प्रस्तुत गरे । तर सत्य त के भने लेनिनले रोजालाई सँधै एक क्रान्तिकारीको रूपमा हेरेका थिए ।

लेनिनले रोजालाई ‘एक बाजजस्तै क्रान्तिकारी’ भनेका थिए । हुन त उनीहरू बिच पोल्याण्डको स्वतन्त्रता, मेन्सेभिकको बुझाइ, पुँजीको संकलनको व्याख्यामा फरक विचार रह्यो तर यो तात्कालिक र वैचारिक भिन्नता थियो । त्यसैगरी पछि रोजा कार्ल काउस्की र प्लेखानोभको समूहमा लागेर बोल्सेभिक-मेन्सेभिक एकताको कुरामा जोड दिनुलाई पनि रोजाको कमजोरी रहेको मानियो । तर कम्युनिस्ट आन्दोलनको ब्याख्या र बुझाइमा विविधता हुनु स्वभाविक हो । जब एउटै पार्टीभत्र समेत फरक विचार समूह देखिएको समयमा तात्कालिक परिस्थितिको विवेचनाबिना हामीले यसलाई विवादित विषय बनाउन मिल्दैन । रोजा क्रान्तिकारी थिइन् । उनी मार्क्सवादी थिइन् ।

एजेन्सी

Comments

Back to top