गाजामा विनाअवरोध खाद्यान्न लैजान दिन इजरायललाई राष्ट्र सङ्घकाे सर्वोच अदालतको आदेश

संयुक्त राष्ट्र सङ्घको सर्वोच्च अदालतले गाजामा विनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न इजरायललाई आदेश दिएको छ । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले सर्वसम्मत निर्णय गर्दै भोकमरी हुन नदिनका लागि सहायता सामग्री पुग्ने सुनिश्चित गर्न इजरायललाई आदेश दिएको बीबीसीले जनाएको छ ।

आईसीजेले इजरायललाई ढिला नगरि आपत्कालीनरूपमा आवश्यक आधारभूत सेवा र मानवीय सहयोग जान दिन काम गर्न भनेको छ । अत्यावश्यक सहायता सामाग्रीमा खानेकुरा, पानी, बिजुली, इन्धन, आवास, लत्ताकपडा, सरसफाइ र स्वास्थ्य सामग्रीहरू पर्ने अदालतले जनाएको छ । गाजामा केही हप्तामा नै भोकमरी शुरु हुन सक्ने चेतावनीमाझ यो निर्णय आएको हो ।

आईसीजेले गाजामा भोकमरी शुरु भइसहेको टिप्पणी गरेको छ । आईसीजेले गरेको आदेश कानुनीरूपमा बाध्यकारी हुन्छ । तर त्यसलाई कार्यान्वयन गराउने शक्ति भने अदालतसँग छैन । इजरायलले भने आफूले सहायता सामाग्रीमा अवरोध पुर्‍याएकाे भन्ने आरोप पूर्णतः निराधार भएको भन्दै खण्डन गरेको छ । बरु संयुक्त राष्ट्र सङ्घका कारण सहायता सामग्री वितरणमा समस्या देखिएको इजरायलको दाबी छ । इजरायलले गाजामा प्रवेश गर्ने धेरैजसो सहायता सामग्री हमासले लिने गरेको बताउँदै बाँकी सामग्री गैरसैनिक मानिसलाई वितरण गर्न विफल भएको आरोप संयुक्त राष्ट्र सङ्घमाथि लगाएको छ । एजेन्सी

Comments

Back to top