सफलता प्राप्तीका लागि गर्नुहोस् यी ६ काम !

तपाईँ जीवनमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने सर्वदा असल बानी विकास गर्ने र त्यसप्रति दृढ रहने प्रयास गर्नुहोस् । असल बानी भन्नाले यसभित्र धेरै कुरा पर्दछन् ।

जस्तैः समयको ख्याल गर्नु, ठीक बेठीक छुट्याउनु, कुशल व्यावहारिक बन्नु, निष्कृय नरहनु, मौन नरहनु सबेरै उठ्नु आदि ।

१) समयको ख्याल

तपाई आफ्नो समय कहिल्यै व्यर्थ खेर नफाल्लुस कहिल्यै त्यतिकै नछोड्नुस् । जुन काम जुन समयमा गर्नुपर्ने हो त्यो काम त्यही समयमा गर्नुस् । तपाईंले समयको पर्वाह नगरेकै कारणले तपाइँको जिन्दगीका महत्त्वपूर्ण मौकाहरू छुटिराखेका हुन सक्छन् ।

मौका छुटेपछि तपाइँ जिन्दगीभर पछुताइरहनुहुन्छ, किनकि त्यही मौका फेरि फर्केर आउँदैन । भनिन्छ पनि ‘मौका आउँछ पर्खदैन, बगेको खोला फर्कंदैन ।’ कुनै विद्वानले भनेका छन् कि तपाइँको घडिको सुइको साथ चल्नुपर्दछ । आफ्नो चौबिस घण्टाको उचित विभाजन गर्नुहोस् ता कि एक मिनेट पनि व्यर्थमा खेर नजाओस् । किनकी त्यो समय दोस्रो पटक आउँदैन ।

२) ठीक–बेठीक छुट्याउने

जीवनमा सफलता प्राप्त गर्नु छ भने तपाइँलाई उचित–अनुचितको ज्ञान हुनुपर्दछ । के ठीक छ र के बेठीक छ, यस कुराको निक्यौल गर्ने शक्ति तपाइँमा हुनु जरूरी छ । कुनै काम गर्ने उचित तरिका के हो भन्ने चिन्ने र बुझ्ने क्षमता पनि तपाइँसँग हुनु जरूरी छ ।

ठीक, बेठीक चिन्ने र छुट्याउने अभ्यास गर्नुहोस् । अभ्यासद्वारा बानी पर्दछ । त्यसपछि तपाइँलाई ठीक वा बेठिक के हो निर्णय लिन समय पनि लाग्दैन । निर्णय शक्तिको विकास हुन्छ, तपाइँ तत्काल ठीक निर्णय लिन पनि सक्नुहुन्छ । यो बानीले तपाइँलाई माथि उठाउँछ, तपाई यस्तो बानी बसाल्नुहुन्छ । तपाईंको कार्य सफलतापूर्वक पूरा हुन्छ ।

३) कुशलता र व्यावहारिकता

कोही व्यक्ति ठूला विद्वान हुन्छन् । उनीहरूसँग कुरा गर्ने बित्तिकै तपाईं चाल पाइहाल्नुहुन्छ उनीहरूलाई ठूला–ठूला धार्मिक ग्रन्थ कण्ठै छ । गीता, पुराण, बाइबल या अन्य शास्त्र उनीहरूले खारेका हुन्छन् । जुन धर्म उनीहरू अनुसरण गर्दछन्, त्यस धर्मको सम्पूर्ण कुरा उनीहरूले पढेका छन् र, कण्ठाग्र पनि छ ।

तर, व्यवहार कुशलताको अभावको कारणले उनीहरूबाट कैयौं भूल हुन जान्छ, र समाजबाट उनीहरूले निन्दा पनि खप्नु परेको हुनसक्छ । वास्तवमा उनीहरूलाई आफ्नो लक्ष्य मिलिराखेको छैन । यतिका कुराका ज्ञाता भएर पनि उनीहरू कुन कुरा कुन बेला भन्न हुन्छ र कुन बेला भन्न हुँदैन भन्ने जान्दैनन् । उनीहरू कुनै व्यक्तिसँग कसरी कुरा गर्ने, व्यवहार गर्ने भन्ने पनि जान्दैनन् ।

यो जरूरी छैन कि कुनै प्रतिभाशाली कलाकार आफ्नो कलाको भरमा विश्वभर प्रख्यात होओस् । राम्रा–राम्रा प्रतिभाशाली कविहरू गाउँको धूलो मै हराउँछन् र एक दिन मरेर जान्छन् । महान् गायक बन्न सक्ने सुमधुर स्वरका धनी व्यक्तिहरू आफनो प्रतिभाको बारेमा अनभिज्ञ नै रहन्छन् । किन ? यस्तो किन ?

कारण अनेक छन् । यसको प्रमुख कारण यही हो कि उनीहरूमा आफ्नो प्रतिभा चिन्न सक्ने र त्यसको विकासको लागि के के गर्न सकिन्छ भन्ने ज्ञान र व्यवहारकुशलता छैन । व्यवहार कुशलता र कार्यकुशलताको बलले एक साधारण लेखक वा कवि रेडियो, टि.भी. र फिल्महरूमा देखा पर्दछ, जबकि एक प्रतिभाशाली कवि कतै देखा नपरी बिलाउँछ ।

उसमा व्यवहार कुशलता नभएकोले गर्दा यस्तो भएको हो । ऊ, कहीं कुनै कुरा गर्न सक्दैन । अगाडि बढ्नको लागि बाटो बनाउन पनि सक्दैन, अवसरको पहिचान गर्न पनि सक्दैन ।

जीवन कला हो । जिउने कलामा कुशल व्यक्ति नै सफलताको सिंढी चढ्दछ ।

४) निष्क्रिय नरहनु

निष्क्रिय कहिल्यै नबस्नुस् । कुनै न कुनै काम गरिरहने बानी बसाल्नुस् । तपाईंको जीवनमा गतिशिलता हुनुपर्दछ । कुनै पनि काम तब मात्र पूरा हुन्छ जब तपाई निरन्तर गतिशिल र क्रियाशील हुनुहुन्छ ।

निष्क्रिय बसिरहनुहुन्छ भने कुनै काम हुन सक्दैन । केही मानिस भाग्यमा भर गर्दछन् र यथासक्य थोर काम गर्दछन् । उनीहरू ‘अजिंगरको आहार दैवले पुऱ्याउँछ’ भन्ने उखानलाई चाहिं याद गर्दछन, तर ‘हातगोडा चल्दैन, दैलोमा फल्दैन’लाई बिर्सन्छन ।

‘संघर्ष नै जीवन हो’, ‘श्रमको पूजा गर’ भन्ने भनाइलाई पनि याद गर्दैनन् । वास्तवमा कर्म नै सच्चा पूजा हो, सच्चा प्रार्थना हो । परिश्रमबाटै कार्य सफल हुन्छ । विना परिश्रम कुनै निकास निक्लदैन । सफलताको मन्त्र परिश्रम हो । त्यसैले निष्क्रिय कहिल्यै नहुनुस् । काम गर्ने र परिश्रम गर्ने बानी बसाल्नुस् ।

५) मौन रहनु

मौनता आफैमा एउटा शक्तिशाली अभिव्यक्ति हो । जो व्यक्ति धेरै चूप रहन्छन्, कम बोल्दछन्, उनीहरूको भनाइ प्रभावशाली हुन्छ । उनीहरूको भनाइमा गहिराई हुन्छ । उनीहरू जब बोल्छन् विचार पुऱ्याएर मात्रै बोल्छन् ।

यसैले यसमा सत्यता, गम्भीरता र ठोस अर्थ रहेको हुन्छ । धेरै बोल्ने, बक–बक गर्ने व्यक्तिको बोलीमा यस्ता कुराहरू केही पनि हुँदैन । जो मौनको अभ्यास गर्दछ, कम बोल्ने बानी बसाल्छ, सोचविचार गरेर मात्र बोल्ने बानी बसाल्छ त्यो व्यक्ति नै जीवनमा सफल हुन्छ ।

उनीहरूलाई उचित समयमा उचित कुरा भन्ने बानी परिसकेको हुन्छ । कम बोल्नुहुन्छ भने तपाइँबाट गल्ती पनि कम नै हुन्छ । त्यसकारण सोच विचार गरेर मात्रै बोल्नु तर कम बोल्नु सफलताको रहस्य हो ।

६) सबेरै उठनु

बिहान सबेरै उठ्ने बानी भएका मध्येकै धेरै व्यक्ति सफल बनेका छन् । जति पनि महापुरूष संसारमा आए ती सबै बिहान सबेरै उठ्थे । अल्छी र कामचोर कोही पनि सफल भएको इतिहासमा छैन । कुनै पनि ठूला मानिसको जीवनी हेर्नु भयो भने तपाइँ पाउनुहुनेछ ती सबैको विहान सबेरै उठ्ने बानी थियो ।

ढीलो गरेर उठ्ने मानिस अल्छी हुन्छ । अल्छी व्यक्ति विलासी र अस्वस्थ पनि हुनसक्छ । अस्वस्थ व्यक्ति कहिल्यै पनि शारीरिक, मानसिक र आत्मिक रूपले शक्तिशाली हुन सक्दैन । जब शक्ति क्षीण हुन्छ, सफलता पनि कोसौं टाढा पुग्दछ । त्यसैले जीवनमा जसलाई केही बन्नु छ, सफलता प्राप्त गर्नुछ, अगाडि बढ्नु छ, शिखरमा पुग्नु छ, त्यस्ता मानिसले बिहान सबेरै उठ्ने बानी बसाल्नुपर्दछ ।

ब्रम्हह्ममुहूर्तमा उठ्नाले कति फाइदा हुन्छ त्यो सबैलाई थाहा छ । समयको बचत त एकातिर छंदैछ, साथसाथै सबेरै उठ्नु स्वास्थ्यको लागि कति लाभदायक छ भन्ने कुरा पनि आफै सिद्ध छ । शीतल, मन्द हावाले स्वास्थ्य र सौन्दर्यलाई शुद्धिकरण गर्दछ ।

त्यसैले सबेरै उठ्ने बानी बसाल्नुका साथै नियमित शारीरिक व्यायाम गर्नाले शरीर एवं मन–मस्तिष्क समेत स्वस्थ रहन मद्दत पुग्दछ ।

Comments

Back to top