एनसेलको ‘एटीन फर एटीन’ कार्यक्रमका लागि १६५ बढी आवेदन

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात् १८ का लागि १८ विकास कार्यका लागि सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरू प्राप्त गरेको छ।

कम्पनीले आफ्नो १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागु हुने गरि यो कार्यक्रम संचालन गरेको हो। अहिले एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरूको मूल्याङ्कन गरिरहेको जनाएको छ।

एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका इच्छुक गैर-नाफामूलक संस्थाहरूबाट आ-आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो।

एनसेलका अनुसार देशैभरीबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जिविकोपार्जन सहयोग लगायतका क्षेत्रहरूमा विकास कार्य गर्न प्रस्तावहरू प्राप्त भएका छन्। लागु हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने संभावना लगायतका आधारहरूमा कार्यक्रमहरू छानिने कम्पनीले बताएको छ।

तोकिएको मापदण्ड र प्रक्रिया पुर्याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम १० लाख रुपैयाँ प्रदान गर्नेछ। यस सामाजिक पहल अन्तर्गत कुल १८ आयोजनाहरू छानिने छन्। प्रत्येक एक प्रदेशमा दुई आयोजना लागु गरिने छन्। बाँकी चार आयोजनाहरू प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यान्वयन गरिने छन्।

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरूका सामाजिक परियोजनाहरूमा १ अर्ब ८० करोड रूपैयाँभन्दा बढी योगदान गरिसकेको छ।

Comments

Back to top