यसरी विभाजन भएको थियो काठमाडौं उपत्यका

नेपालमण्डलका अन्तिम राजा हुन यज्ञ मल्ल । उनले राज्यलाई एकजुट बनाएर शासन संचालन गरेका थिए। उनको परिवार ठूलो थियो । विवाहित ५ जना र ल्याइते दुई जना गरेर उनका ७ जना रानी थिए भने ७ भाई छोरा थिए । त्यही ठूलो परिवार भएकै कारण यज्ञ मल्लको मृत्यु पछि नेपालमण्डल राज्य टुक्रा–टुक्रामा विभाजन भयो । नेपालमण्डल राज्य उपत्यका र आसपासका क्षेत्रहरुमा फैलिएको थियो ।

वि. स. १५३८ मा यज्ञ मल्लको मृत्यु भएपछि करिब तीन बर्ष जतिमात्र मल्ल राज्य संगठित रह्यो । त्यसपछि यो उपत्यकाको राज्य विभिन्न टुक्रामा विभाजन हुन पुग्यो । प्रारम्भदेखि नै यो राज्यको राजधानी भक्तपुरमा रहेको थियो । केन्द्रीय शासकलाई शासन संचालन गर्न सजिलो होस् भन्ने हेतुले मध्यकालको प्रारम्भदेखिनै कान्तिपुर, पाटन, नुवाकोट, फपिङ, बनेपा, दोलखा आदी क्षेत्रमा सामान्त शासकहरु नियुक्त गरिएका थियो ।

पछि ती सामान्तहरुको उत्तरअधिकारीहरुले सम्बन्धीत क्षेत्रमा पुस्तैनी अधिकार लिएर शासन संचालन गर्दै आएका थिए । यज्ञ मल्लको मृत्यु पनि उनको जेठा छोरा राय मल्ल भक्तपुरको राजगद्दीमा बसे । त्यसपछि उनी र उनका भाइहरुका विचमा झगडा सुरु भयो । यही अवसर पारेर सामान्त शासकहरु स्वतन्त्र बन्ने प्रयास गरे । तीन बर्षसम्म झगडा चल्यो र अन्त्यमा उपत्यकाको राज्य विखण्डन हुन पुग्यो ।

यज्ञ मल्लका छोराहरुमध्ये माइला छोरा महत्वकाँक्षी र चतुर थिए । उनले नेपाल राज्यलाई विखण्डन गरी कुनै ठाउँको स्वतन्त्र शासक भएर शासन संचालन गर्न चाहान्थे । उनले विभिन्न ठाउँमा नियुक्त गरेका सामान्त शासकहरुसँग सल्लाह गर्न थाले । काठमाडौंमा बाह्रठकुराई सामान्तहरुले शासन गरेका थिए । अरुको तुलनामा उनीहरु कमजोर थिए ।

रत्न मल्ले ती कमजोर शासकहरुलाई केही गरी हटाएर त्यस क्षेत्रलाई आफ्नो अधिनमा लिने योजना बनाए । बंशावलीमा उल्लेख गरेअनुसार रत्न मल्लले कान्तिपुरका १२ भाई ठकुरी महापात्रहरु मध्ये एक जना प्रमुख महापात्रलाई फकाई फुलाई आफ्नो पक्षमा पारे र बाँकी ११ जनालाई भोजमा निमन्त्रणा गरी विष हालेर मारिदिए ।

षड्यन्त्रपूर्वक कान्तिपुरको राजनीतिक शक्ति आफ्नो हातमा लिएपछि विं.स १५४१ मा उनी कान्तिपुरको स्वतन्त्र शासक भए । यसरी कान्तिपुर राज्यको स्थापना गर्दा रत्न मल्लले आफ्ना भाइहरु र भानिज भिम मल्लको समेत सहयोग लिएका थिए ।

ललितपुर क्षेत्रमा भने धेरै पहिलेदेखि नै सप्तकुटुम्बजहरुले सामान्तहरुको पुस्तैनी अधिकार पाएका थिए । कान्तिपुरमा रत्न मल्लले नयाँ राज्य स्थापना गर्दा ललितपुरमा हस्तपाल र जगतपाल नाम गरेका बाबुछोरा निकै शक्तिशाली सामान्त शासकहरु थिए । रत्न मल्लले ती सामान्तहरुलाई आफ्नो इसारामा नचाउन सफल भएका थिए ।

रत्न मल्लको सहयोग पाएपछि ललितपुरका सामन्तहरुले आफूलाई निकै सुरक्षित र शक्तिशाली भएको महसुस गरेका थिए । तलितपुर निकै पछि स्वतन्त्र राज्यको रुपमा देखा पर्यो । कान्तिपुर राज्यको स्थापना गर्दा आफूलाई सहयोग गर्ने भाइ रण मल्ललाई बनेपा राज्यको राजा बनाइदिएको बंशावलीमा पढ्न पाइन्छ । यसरी यज्ञ मल्लको मृत्युपछि काठमाडौं उपत्यकामा स्वतन्त्र राज्यहरुको स्थापना गरियो र उपत्यका विखण्डनमा गयो ।

 

Comments

Back to top