'डिपाे' परिवार नियोजनकाे अस्थायी साधनबारे जान्नैपर्ने कुराहरु!

(डिपो) तीन महिने सुई परिवार नियोजनको एक प्रभावकारी अस्थायी साधन हो। यो सुई महिलाले गर्भवती हुनबाट बच्न हरेक ३–३ महिनामा लगाउनु पर्छ। डिपो एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रहँदैन।

नियमित रुपमा डिपो सुई लगाएमा यो ज्यादै प्रभावकारी हुने विज्ञले बताएका छन्। डिपो सुई स्तनपान गराउने महिलाले बच्चा जन्मेको ६ हप्तापछि नै प्रयोग गर्न सक्छन्। 

 सुई लगाएपछि देखिन सक्ने असरहरु

– महिनावारी गडबड हुने, जस्तैः सुरुसुरुमा महिनावारी नियमित नहुने र महिनावारी नै नहुने, महिनावारी बाहेक अन्य समयमा पनि रगतका थोपा देखा पर्न सक्ने,

– शरीरको तौल बढ्न सक्ने,

– टाउको दुख्न सक्ने

– वाक वाक लाग्न सक्ने

यसको असरहरू सबै महिलालाई देखिँदैन। सबै असर वा लक्षण एकै जनालाई पनि देखिँदैन। डिपो लगाइसके पछि विभिन्न असरहरु आफै नहराएको खण्डमा वा गाह्रो भएको अनुभव भएमा प्रयोगकर्ताले तुरुन्तै स्वास्थ्यकर्मीसँग परामर्श गरिहाल्नु पर्दछ।

यस्तै सुई लगाउन बन्द गरेपछि सामान्यतः प्रजनन् क्षमता पुनः फर्किन केही समय (सामान्यतया १० महिना) लाग्छ। डिपो सुईको प्रयोगले एचआईभी र यौन रोग सर्नबाट बचाउँदैन। त्यसैले एचआईभी र यौन रोग सर्नबाट बच्न कण्डमको पनि प्रयोग गर्नुपर्छ।

डिपो सम्बन्धी वास्तविकताहरु

– डिपो सुई लगाउनाले पाठेघरमा रगत जम्मा हुँदैन

– स्तनपान गराउने महिलाको दूधको मात्रा घटाउँदैन

– सुईको प्रयोगले आमाको दूध अथवा दूध खाने बच्चालाई खराब असर गर्दैन

– बच्चा जन्माइसकेकी अथवा नजन्माएकी जुनसुकै उमेरकी महिलाले सुईको प्रयोग गर्न सकिने

– डिपो सुईको प्रयोगले क्यान्सर हुँदैन

डिपो कसले लगाउन मिल्ने?

– केही समय अन्तरालमा बच्चा जन्माउने रहर भएमा

– बच्चा पाइसकेको ६ हप्ता भएमा

– स्तनपान गराइरहेको अवस्थामा

 

Comments

Back to top