लघुवित्तको ऋण तिर्न नसक्दा सास्ती पाउँदै सर्वसाधारण
बचत मात्र नभएर आवश्यक पर्दा ऋणसमेत उपलब्ध गराएर ग्रामीण जीवनलाई लघुवित्तहरुले सहज बनाउन सहयोग पु-याएका छन् । तर, लघुवित्तकै कारण कतिपयको भने घरबास नै उठिवास भएको छ । लघुवित्तबाट लिएको ऋण लिएर तिर्न नसक्दा सल्यानका कति महिलाले गाउँ छाडेका छन् भने कतिले त आफ्नै जीवनको अन्त्यसमेत गराएका छन् ।
दुई वर्षअघि शारदा नगरपालिका पटनेरीकी तिलकुमारी रावतले व्यापार गर्न भन्दै विभिन्न लघुवित्तबाट लिएको ऋण समयमै तिर्न नसकेपछि तनावमा परेकी उनकी १६ वर्षीया छोरीले आत्महत्या गरिन् । पटनेरीकै बिन्दु बिकले पनि बाखापालन गर्न लिएको चार लाख ऋण तिर्न नसक्दा श्रीमानसँग झगडा भयो र घर छाडेर आत्महत्याको प्रयाससम्म गरिन् । यी त केही उदाहरण मात्र हुन् । लघुवित्तबाट ऋण लिएर तिर्न नसकेका अधिकांश महिला फरार छन् ।
कुमाख गाउँपालिका बडागाउँकी ठगी केसी पनि लघुवित्तको ऋण तिर्न नसक्दा घर छाडेर हिँडेकी छन् । लघुवित्तहरुले ऋण लगानी गर्दा आयस्रोत नहेर्ने र धितो पनि नखोज्ने गर्दा धेरै जसो महिलाले पीडा भोग्नु परेको छ । शारदा नगरपालिका–१ कि वसन्ता परियारले लघुवित्तले आफ्ना घरमा रहेका समान उठाएर लैजाने धम्की दिएको बताईन् ।
सल्यानका हरेक गाउँमा लघुवित्तहरुले महिलाका समूह गठन गरेर ऋण परिचालन गरेका छन् । तर, तिर्न नसकेर सम्पर्कविहीन हुनेहरूको सङ्ख्या पनि बढ्दो छ । आफ्ना सदस्य बढाउने होडबाजीमा एउटा लघुवित्तको ऋण नतिरेकाहरूलाई जबर्जस्ती ऋण दिँदा महिलाहरू ऋणको पासोमा फसेको स्वयम् लघुवित्तका कर्मचारीसमेत बताउँछन् ।
स्वावलम्वन वित्तीय संस्थाका प्रमुख हरिकुमार बोहराले आर्थिक कारोबार गर्दा ध्यान दिनुपर्ने बताए । उनका अनुसार लिएको ऋण सहि प्रयोजनमा लगाउन नसक्दा समस्या बढ्दै गएको छ ।
Comments