पुनर्कर्जाको ब्याजदर वृद्धिले व्यवसायीलाई गाह्रो
नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर बढाएको छ । राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर २ प्रतिशतले बढाएर ७ प्रतिशत पुर्याएको हो । कोरोना महामारीका कारण थला परेको उद्योग व्यवसायदेखि समग्र अर्थतन्त्रलाई माथि उठाउन राष्ट्र बैंकले पुनर्कर्जाको व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले हालै पुनर्कर्जा कार्यविधि २०७८ को चौथो संशोधनमार्फत यसअघि ५ प्रतिशत रहेको यस्तो ब्याजदरलाई ७ प्रतिशत कायम गरेको छ । बैंकका ग्राहकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा ७ प्रतिशत, विशेष पुनर्कर्जामा ५ प्रतिशत र साधारण पुनर्कर्जाअन्तर्गत ७ प्रतिशत ब्याज लिन पाउने भएका छन् ।
बैंकले भने राष्ट्र बैङ्कमार्फत क्रमशः ४ प्रतिशत, २ प्रतिशत र ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउनेछन् । ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीका लागि, लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैङ्कले तोकेका ग्राहक ऋणीका लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।
यता कोभिडले थलिएका व्यवसायहरू लयमा फर्कन लागि रहेको बेला ब्याजदर वृद्धिले थप मारमा परेको व्यवसायी बताउँछन् । नेपाल ऊनी फेल्ड उत्पादक तथा निर्यात संघका अध्यक्ष अमृत खड्का पुनर्कर्जाको ब्याजदर वृद्धिले उत्पादन लागत बढ्ने र साना व्यवसायीहरु प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्ने बताउँछन् ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्डमान शाक्य भने बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जामा लिँदै आएको ब्याजदर बढ्दा हस्तकला व्यवसायमा प्रत्येक्ष प्रभाव पारेको बताउँछन् । उनी भन्छन्, “राष्ट्र बैंकको यो निर्णयले निर्यात व्यवसायीलाई प्रत्येक्ष प्रभाव पारेको छ ।”
Comments