‘केजीएफ’ स्टार यश : ड्राइभरको छोरा कसरी बने सुपरस्टार
मूल रुपमा ‘केजीएफ च्याप्टर २’ कन्नड भाषाको फिल्म हो । ‘केजीएफ’को पहिलो सिक्वेल सन् २०१८ मा कन्नडका साथै हिन्दी र अन्य केही भाषामा रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो । यसको दोस्रो सिरिज ‘केजीएफ–२’ मा कन्नड फिल्मका सुपरस्टार यशका अलावा सञ्जय दत्त, रविना टण्डन र प्रकाश राजको मुख्य भूमिका रहेको छ ।
कन्नड अभिनेता यशको फिल्मी यात्रा त्यति सजिलै यहाँसम्म आइपुगेको भने होइन । उनको यहाँसम्मको यात्रा कुनै फिल्मको कथा भन्दा कम छैन । जसमा घरदेखि भागेको कथा पनि छ र ब्याक स्टेजमा काम गरेको अनुभव पनि छ । यही संघर्षले यशलाई अहिलेको सर्वाधिक सफल साउथ अभिनेतामध्ये एक बनाएको छ ।
‘फिल्म क्याम्पियन’लाई दिएको अन्तर्वार्तामा यशले भनेका छन्, “जब म भर्खर–भर्खर फिल्म उद्योगमा आएको थिएँ, त्यति नै बेला सोचेको थिएँ व्यक्ति कुन पृष्ठभूमिबाट आएको भन्ने कुराले केही फरक पार्दैन । यस कुरामा निर्भर हुन्छ कि तपाईंलाई आफ्नो काम गर्न आउँछ कि आउँदैन । दर्शक तपाईंसँग कनेक्ट भइरहेका छन् कि छैनन् ।”
यशको वास्तविक नाम नवीनकुमार गौडा हो । तर उनलाई मानिसहरु यो नामले चिन्दैनन् ।
‘द न्युन मिनेट’को साक्षात्कारमा यशले आफ्ना पिता त्यसबेला बीएमटीसीमा बस चालक रहेको बताए । छोरो सरकारी अधिकारी बनोस् भन्ने उनका बुवाको चाहना थियो । तर यशलाई अरु कुरामै रुचि थियो । उनी नाटक र नृत्य प्रतियोगितामा भाग लिन्थे, उनको प्रस्तुतिमा दर्शकहरु सिटी बजाउँथे । यही कुराले उनलाई भित्रैबाट कलाकार बन्ने ऊर्जा दिन्थ्यो ।
यशका अनुसार उनी बालपनदेखि नै अभिनेता बन्न चाहन्थे । नाटक र नृत्यमा भाग लिंदा दर्शकबाट आएको हुटिङ र तालीले उनलाई आफू ‘हिरो’ नै बनेको भान हुन्थ्यो ।
फिल्मको हिरो बन्न भन्दै उनी घरबाट भागेर बैंग्लोर पुगे । तर बैंग्लोरमा पाइला राख्नेबित्तिकै उनी डराए । किनकि, उनको साथमा घरबाट ल्याएको ३०० रुपैयाँ मात्रै थियो । के गर्ने कसो गर्ने उनलाई कुनै मेसो थिएन । तर पनि उनलाई घर फर्किन मन लागेन, फेरि घर गए बुवाआमाले फर्किन दिंदैनन् भन्ने डर उनलाई थियो ।
यश त्यसपछि संघर्षको मैदानमा होमिए । बैंग्लोरको थिएटरमा ब्याक स्टेजमा काम पाए । त्यहाँ काम गरिरहेको बेला सँगै फिल्म उद्योगमा पनि संघर्ष गरिरहेका थिए ।
यशले पहिलोपटक सन् २००८ मा कन्नड फिल्म ‘मोगिना मनासु’मा काम गर्न पाए । यो फिल्मबाट उनले ‘बेस्ट सपोर्टिङ एक्टर’मा फिल्मफेयर अवार्ड समेत प्राप्त गरे । यसपछि उनी राजधानी, गजकेशरी, मास्टरपिस जस्ता फिल्ममा अभिनय गरेर लोकप्रिय भए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।
यशले अभिनेत्री राधिका पण्डितसँग विवाह गरे । केही वर्ष प्रेमसम्बन्धमा रहेपछि उनीहरुले विवाह गर्ने निर्णय लिएका हुन् । उनीहरुका अहिले दुई सन्तान छन् ।
स्रोत: बीबीसी हिन्दी
Comments