बढ्यो छुर्पी उत्पादन, साठी लाखको निकासा

उदयपुरमा यो वर्ष छुर्पी उत्पादन बढेको छ । स्थानीय किसानमा पशुपालनमा आकर्षण बढेसँगै छुर्पी उत्पादन बढेको हो ।विगत पाँच वर्षदेखि छुर्पी उत्पादन गर्दै आएको यहाँको पाथीभरा दूध डेरी उद्योगले शुद्ध दूधको आपूर्ति बढेपछि छुर्पी उत्पादन पनि वृद्वि भएको जनाएकोे छ ।

गाईघाट बजारको सबैभन्दा ठूलो यो डेरी उद्योगले दैनिक तीन हजार लिटर दूध खपत गर्दै आएको छ ।सो उद्योगका प्रोप्राटर अविनाश लिम्बूले आफ्नो उद्योगबाट मङ्सिरदेखि फागुनसम्ममा करिब ४० क्विन्टल छुर्पी उत्पादन भएको जानकारी दिए । गत वर्ष यसै समयमा करिब १० क्विन्टलको हाराहारीमा आफुँले छुर्पी बनाएर बिक्री गरेको उनले बताए । यस वर्ष गाईघाटबाट करिब ६० लाख रुपियाँको छुर्पी निकासी भएको व्यवसायीले जनाएका छन् ।

पहिले गाईघाटका व्यापारीले धरान, धनकुटा र तेह्रथुम जिल्लाबाट ल्याएको छुर्पी बेच्ने गरेकामा अहिले यहाँबाट अरू जिल्लामा बिक्री गर्न सक्ने अवस्था आएको छ । झन्डै पाँच वर्षअघि खुलेको गाईघाटको पाथीभरा दूध डेरी उद्योगबाट उत्पादन भएको छुर्पीले बजार लिन थालेपछि स्थानीय व्यापारी अरू जिल्लाको छुर्पी किन्न छोडेका छन् ।

यहाँ अरू उद्योगले पनि छुर्पी उत्पादन गरिरहेका छन् । राधाकृष्ण दुग्ध डेरीका सञ्चालक वासु कटुवालले पनि यो वर्ष पाँच लाख रुपियाँको छुर्पी बिक्री गरेका छन् । यो उद्योगले दैनिक एक हजार ५०० लिटर दूध खपत गर्दै आएको छ ।

कटुवालले भने, “हिउँदको समयमा बजारमा दूध आपूर्ति धेरै भएकाले छुर्पी उत्पादनमा लगानी गरेको हुँ । पहिले दूध र घिउ मात्र बेच्थेँ । अहिले छुर्पी उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर डेरी उद्योग सञ्चालन गर्दै आएको छु । ”

कटुवालले आफ्नो उत्पादन स्थानीय बजारका अतिरिक्त झापाको बिर्तामोड, धुलाबारी, बेलडाँगीस्थित शरणार्थी शिविर र भारतको सिलगुडीसम्म बिक्री भइरहेको बताए ।

कात्तिकदेखि फागुनसम्म मासिक करिब २५० क्विन्टल छुर्पी उत्पादन गर्ने गरेको अर्काे हितैषी दूध डेरी उद्योगले यस वर्ष करिब १० लाख रुपियाँको छुर्पी उत्पादन र बिक्री गरेको सो डेरीका सञ्चालक विष्णु कार्कीले बताए । उदयपुरमा उत्पादित छुर्पी निकै गुणस्तरीय रहेको उनले बताए । गुणस्तरको आधारमा प्रतिकेजी ८५० रुपियाँदेखि एक हजार रुपियाँसम्ममा छुर्पी बिक्री हुँदै आएको छ । गाईघाट बजार क्षेत्रमा मात्रै दुई दर्जनको सङ्ख्यामा दुग्ध डेरी सञ्चालनमा रहेका छन् ।

स्रोत: गोरखापत्र

Comments

Back to top