क्रिप्टोकरेन्सीबाट पुँजी पलायन भइरहेको भन्दै नियमन गर्न सुझाव

अर्थमन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा अर्थविदहरुले क्रिप्टोकरेन्सी हाइपर फण्ड लगायतबाट पूँजी पलायन भइरहेको भन्दै नियमनका लागि सशक्त कदम चाल्न सुझाव दिएका छन् । कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा बरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दुई अंकको आर्थिक वृद्धिदरसमेत संभव भएको भन्दै अर्थतन्त्रलाई बिस्तार गर्न सुझाव दिएका थिए । उनले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतकाट पूँजी पलायन भइरहेको भन्दै नियमनका लागि सशक्त कदम चाल्नुपर्ने बताए ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् । उनले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका बिषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए ।

नेपाल आर्थिक संघ, बैंक तथा बित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममाा बोल्दै उनले भने, “किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौँ,” उनले भने ।

अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरे । “म बजेटमार्फत किसानको बाँझो खेततर्फ फर्केन चाहन्छु, त्यता नफर्की उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिदैन भन्ने लाग्छ’ उनले भने, ‘निर्यातलाई अब बिस्तारै बढाउँदै लैजानुपर्छ । निर्यात बढाउन हामीसँग उत्पादनको अथाहा संभावना छ ।”

चालू आबको ८ महिनामा कुल बैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताए । चालू आबको ८ महिनाससम्ममा निर्यातले नयाँ किर्तिमान राख्दै एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो बर्षको भन्दा ८२.९० प्रतिशत बढी हो ।

उनले बढ्दै गएको व्यापार घाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर सुझाव पनि मागेका थिए । “आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ । हाम्रो साधन स्रोतको अधिकतम प्रयोग गरेर पूँजी निर्माण गर्नुपर्नेछ । तर गर्ने कसरी ? मलाई यस बिषयमा सुझाव चाहिएको छ,” उनले भने ।

उनले बाह्य कारण अर्थतन्त्रमा असर परेको तर अर्थविद्हरुले व्यक्तिगत रुपमा आफूनो बारेमा नकारात्मक टिप्पणी गरेको बताए । “केही विद्धान साथीहरुले गरेको टिप्पणी सुनेको छु । कुन विश्वविद्यालयबाट ज्ञान हाँसिल गर्नुभएको हो, थाहा छैन । त्यो विश्वविद्यालयको नै बेइज्जत हुने देख्छु,” उनले भने ।

२५ भदौमा सार्वजनिक प्रतिस्थापन विद्येयकमार्फत चालू आबको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्य भन्दा बढी आर्थिक वृद्धिदर हाँसिल हुने स्थिति रहेको उनले दाबी गरे । “तर, बजेट घोषणा लगत्तै केही समयपछि कात्तिक पहिलो साता बेमौसमे बर्षातले धान्ने बालीमा ठूलो क्षति भयो । अहिले युक्रेन–रुस युद्धले विश्व अर्थतन्त्रसँगै नेपाालको आयातमुखी अर्थतन्त्रलाई पनि असर गरेको छ’ उनले भने, ‘यसरी बाह्य कारणले ठूलो असर गर्दा हामीले सोचेजस्तो आर्थिक अवस्थामा देशको अर्थतन्त्रलाई राख्न नसकिएको बिषय सबैले बुझ्नुपर्छ ।”

कार्यक्रममा अर्थशास्त्रीहरु प्रा. डा. गोबिन्द नेपाल, डा. पोषराज पाण्डे, केशव आचार्य र व्यवसायी पवन गोल्यानले विभिन्न सुझाव पेश गरेका थिए ।

Comments

Back to top