नेपालमै एसेम्बल हुने टीभीएस बाइक, तर मूल्य भने उस्तै !

टीभीएस बाइकको औपचारिक रुपमा नेपालमै एसेम्बल प्रारम्भ भएको १ वर्ष बितिसकेको छ । नेपालमा पहिलो चरणमा अपाचे १६० सिरिजको बाइक एसेम्बल भएको कुरा टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।

व्यावसायिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले हाल नेपालमा टीभीएस बाइक तथा स्कुटर बिक्री–वितरण गरिरहेको छ । दुई महिनाको परीक्षण उत्पादन पछि अब यसको व्यावसायिक उत्पादन प्रारम्भ गरिएको शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले बताएका छन्।

कम्पनीले एक वर्षभित्रमा टीभीएसको मोटरसाइकल र स्कुटर र तीन पाङ्ग्रे रिक्साको एसेम्बल समेत यही गर्नेछ । कम्पनीको बाराको सिमरामा टीभीएसको एसेम्बल हुन्छ । यसका लागि अहिलेसम्म करिब १ अर्ब रुपैयाँको लगानी भएको छ ।

कम्पनीमा वर्षमा १ लाख मोटरसाइकल तथा स्कुटर तथा २० हजार तीन पाङ्ग्रे रिक्साको उत्पादन गर्ने लक्ष्य राखेको छ ।

अहिले एसेम्बल उद्योगमा एक सयजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आउने दिनमा ५ सय जनाले प्रत्यक्ष रोजगारी एसेम्बल उद्योगले दिनेछ ।

एसेम्बल उद्योग प्रारम्भ भए पनि नेपालमा बाइकको मूल्यमा भने खासै फरक पर्ने छैन । एसेम्बल पहिलो चरण भएको र भविष्यमा पार्टपुर्जा र अन्य उद्योगहरु समेत खुलेमा उपभोक्तालाई फाइदा पुग्ने छ ।

यो भन्दा पहिले बजाज बाइक समेत नेपालमै एसेम्बल हुँदै आएका छन् । त्यस्तै चिनियाँ कम्पनी अन्ना लिफानले समेत एसेम्बल गरेर बाइक बिक्री थालेको थियो । तर प्रतिस्पर्धामा टिक्न नसकेर सो बाइक नै अहिले उत्पादन हुन बन्द भएको छ ।

Comments

Back to top