बैंकिङ प्रणालीबाट एक दिनमा १३ अर्ब बाहिर
बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार यहि चैत ९ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १३ अर्ब रुपैयाँ बाहिरिएको हो ।
योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ । गत चैत ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो ।
चैत ९ गते वाणिज्य बैंकहरुको निक्षेप भने १४ अर्ब रुपैयाँले घटेको छ । गत चैत ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा चैत ९ मा घटेर ४३ खर्ब १३ अर्ब रुपैयाँमा झरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा परिचालन भने स्थिर रहेको छ । गत चैत ८ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा परिचालन ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा चैत ९ गते पनि त्यति नै रहेको छ ।
वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि स्थिर रहँदै चैत ९ गते ४१ खर्ब ६६ अर्ब रुपैयाँ नै रहेको छ । गत चैत ८ गते पनि वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ नै रहेको थियो । चैत ९ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ९०.९६ प्रतिशत पुगेको छ । चैत ८ मा औसत सीडी रेसियो ९०.७३ प्रतिशत रहेको थियो ।
Comments