भारतले कोइला रोकेपछि नेपाली इँटा उद्योग संकटमा
युक्रेन रुस युद्वको कारण देखाउँदै भारतले रेल उपलब्ध गराउन नमानेपछि नेपालमा कोइला अभाव भएको छ। पछिल्लो १ हप्तादेखि नेपालमा कोइला आउन नसक्दा इँटा उद्योग संकटमा परेका हुन्।
अमेरिका र इन्डोनेसियाबाट जहाजमा कोइला आउने गरेको छ। तर, युक्रेन–रुस युद्वका कारण आउने जहाजको संख्यामा कटौतीपछि कोइला आउन सकेको छैन। संकटसँगै कोइलालाई भारत सरकारले हल्दिया बन्दरगाहमा रोकेर राखेपछि नेपालमा कोइला संकट चुलिएको हो। उता भारतले आफ्नै देशमा माग उच्च बनेको भन्दै पछिल्लो ३ वर्षदेखि नेपाललाई कोइला आपूर्ति बन्द गरेको थियो। त्यसपछि नेपाली व्यवसायीले अन्य देशबाट कोइला आयात गर्न थालेका छन्। तर, पछिल्लो समय युद्धका कारण ढुवानीमा दबाब बढेको कारण देखाउँदै कोइला ढुवानीका लागि भारतले रेल सेवा बन्द गरेको छ। यसको सोझो असर पूर्वमा संचालित सयौं इँटा उद्योगमा देखिएको छ।
अघिल्लो वर्ष १९ हजार रुपियाँ मेट्रिक टन पर्ने कोइलाको मूल्य हाल ४६ हजार रुपियाँ मेट्रिक टनसम्म तिर्न व्यवसायी बाध्य बनेका छन्। महंगो मूल्यमा खरिद गरेको करिब २ लाख मेट्रिक टन कोइलासमेत भारतले हल्दियामा रोकेपछि इँटा व्यवसाय मारमा परेको छ। ढुवानी तथा अन्य कारण देखाउँदै कोइलाको मूल्य बढेसँगै व्यसायीसमेत इँटाको मूल्य बढाउने तयारीमा लागेका छन्।
उद्योगमा रहेको कोइलाले अब केही दिन मात्रै भट्टा संचालन गर्न सकिने कोशी अंचल इँटा उद्योग व्यवसायी संघका अध्यक्ष विजयकुमार श्रेष्ठले बताए। “कलकत्ता मालदहबाट नेपाल आउने कोइला रोकिएपछि र मूल्य अत्याधिक बढेपछि उद्योग चलाउन संकट परेको छ,” माता देवी इँटा उद्योगका संचालक श्रेष्ठले भने, “यही अवस्था रहे उद्योग बन्द गर्नुको विकल्प हुनेछैन।”
उद्योग संचालन गर्न भारतबाट सम्झौता गरेर झिकाइएका मजदुर आइसकेको अवस्थामा कोइला संकट देखिएपछि आफूहरु दोहोरो मारमा परेको एवी इँटा उद्योगका संचालक एवं नेपाल उद्योग परिसंघका प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरे बताउँछन्।
कोरोना महामारी र बर्खाको दोहोरो मारमा परेका पूर्वका इँटा उद्योग पछिल्लो समय चलायमान भएका थिए। सुनसान जस्तै देखिएका उद्योगमा रहेका पुराना उत्पादन बेच्दै आएका व्यवसायी पछिल्लो समय उत्साहित बनेका थिए। तर, एकपछि अर्को संकट देखिन थालेपछि उद्योगनै धरासायी हुने चिन्ता बढेको छ। इँटा बनाउनका लागि मंहगो मूल्यमा माटो खरिद गर्नुपर्ने, देशमा मजदुर अभाव भएपछि भारत, बंगालादेशबाट मजदुर झिकाउनुपर्ने तथा इन्धन र कच्चा पदार्थको अभाव जस्ता समस्याका कारण संकट बढेको व्यवसायी बताउँछन्।
स्रोत: गोरखापत्र
Comments