बेसार खेती: एक परम्परागत् कृषि उद्यम
तुलसीपुर १९ सुन्दरखोलाका किसान शिवराम सार्की बेसार खेती गर्दै आएका छन् । उनको जीवन धान्ने गतिलो अर्थउपार्जनको माध्यम बनेको छ, बेसार खेती । वार्षिक चारदेखि ६ क्वीन्टलसम्म काँचो बेसार उत्पादन गर्दै आएका शिवरामले बेसारको चाना बनाएर घट्टमा पिसाएर बेसार बिक्री गर्दै आएका छन् । सार्कीले भने, “बेसार खेतीका लागि रासायनिक मल पनि आवश्यक पर्दैन, रोग कीरा नियन्त्रण गर्नका लागि विषादी पनि छर्कनुपर्दैन ।” रोपेपछि एक पटक गोडमेल गरे राम्रै उत्पादन हुन्छ । बेसार प्रति केजी तीन सय रुपियाँमा बिक्री गर्दै आएका छन् ।
मकै, गहुँ, जौ, तोरीभन्दा तेब्बर बढी आम्दानी बेसार खेतीबाट हुन्छ शिवराम सार्कीले भने । अन्य बालीका लागि रासायनिक वा कम्पोष्ट मल, सिंचाई अनिवार्य हुन्छ, बेसारका लागि खासै मिहिनेत पनि नपर्ने र मल पनि आवश्यक नपर्ने उनले बताए ।
यस क्षेत्रबाट वार्षिकरुपमा ५० क्विन्टल बेसार उत्पादन हुँदै आएको अर्का किसान टीकाराम घर्तीले बताए । किसानहरुले काँचोभन्दा सुकाएर घट्टमा पिसेर धुलो बेसार नै बिक्री गर्दै आएका छन् । घर्तीले भने, “यहाँको आयस्रोतको गतिलो माध्यम भनेको अदुवा, बेसार र मालागेडी खेतीको त्यसमध्ये सबैभन्दा भरपर्दो भनेकै बेसार खेती हो । किनकि बेसारमा रोग पनि लाग्दैन धेरै वर्षा भए पनि कुहिने डर हुँदैन ।”
अर्का किसान पूर्णबहादुर सार्कीले यस वर्ष पाँच क्विन्टल बेसार उत्पादन गरेका छन् । सार्कीले भने, “पाँच क्विन्टल काँचो उत्पादन भएको हो, चाना बनाएर सुकाएर धुलो बनाउँदा एक क्विन्टल होला ।”
बेसारलाई आयुर्वेदशास्त्रमा सुनौलो चियाका रुपमा उपयोग गरिँदै आइएको समेत उनले बताए । बेसार नेपालीहरुको भान्सा घरमा अत्यावश्यक मसलाका रुपमा प्रयोग गरिँदै आइएको छ । नरदेवी आयुर्वेद चिकित्सालयका डा. रामकामेश्वर यादवले नियमितरुपमा बेसारको चूर्णले स्वास्थ्यलाई फाइदा पुर्याउने बताउँछन् । बेसारको प्रयोगले रोगप्रतिरोधात्मक क्षमता बढाउने उनले बताए ।
स्रोत: गोरखापत्र
Comments