बीस अर्बभन्दा बढीको कृषि उपकरण आयात, नेपालका उद्योग बन्द

आधुनिक कृषि औजार तथा उपकरण प्रयोगमा कृषकको आकर्षण बढेको छ तर स्वदेशमै उत्पादन नहुने र विदेशबाट आयात गर्नुपर्दा महँगो पर्ने भएकाले धेरैजसो कृषकको पहुँचमा छैन।

सरकारी तथ्याङ्कअनुसार हाल ८० देखि ९० प्रतिशत कृषि औजार तथा उपकरण विदेशबाट आयात हुन्छन् । नेपालमा बर्सेनि करिब २० अर्ब रुपियाँको कृषि औजार तथा विभिन्न उपकरण आयात हुने गरेको छ।

कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्न सरकारले प्रोत्साहन गरिरहेको छ । सरकारले किसानलाई ५० प्रतिशतदेखि शतप्रतिशत अनुदानमा यी औजार वितरण पनि गर्ने गरेको छ तर यसरी वितरण गरिने कृषि औजार र उपकरण थोरै किसानले मात्रै पाएका छन् ।

कृषि औजार तथा उपकारण बिक्री वितरण गर्दै आएका नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका अध्यक्ष खोजराज कटुवालले भने, “सरकारले किसानलाई कृषि प्रविधि तथा औजार प्रयोग गर्न सिकाए तर ती औजार स्वदेशमै उत्पादन हुँदैन । त्यसैले गर्दा किसानको लागतमा वृद्धि भइरहेको छ ।”

आयातित औजार उपकरणको मूल्य धेरै हुने भएकाले व्यक्तिगत लगानीमा किसानले किन्न सक्ने अवस्था कम छ । विदेशबाट निर्यात गर्नु परेकै कारण कृषि सामग्री र उपकरणमा ४० देखि ६० प्रतिशतसम्म बढी मूल्य लाग्ने गरेको सरकारी तथ्याङ्क छ ।

स्वदेशमा उत्पादन नहुने भएकाले कृषियन्त्र तथा उपकरण नेपाली बजारमा महँगो पर्ने गरेको छ । मूल्य धेरै भएकाले सबै किसानले खरिद गर्न नसक्ने र प्रयोग गर्दा पनि उत्पादन लागत बढी हुने उनले बताए।

“किसानले चासो देखाउँछन्, हामीसँग सल्लाह लिन्छन् तर महँगो भएका कारण खरिद गर्न सक्दैनन् । नेपालमै उत्पादन भयो भने पक्कै पनि सस्तो हुन्छ,” कटुवालले भने ।

कृषि पूर्वाधार तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्रका प्रमुख महेन्द्र पौडेलले सरकारले आफ्नै कृषि औजार कारखाना सञ्चालनका लागि ध्यान दिनुपर्ने बताए । बाहिरबाट कृषि औजार तथा उपकारण ल्याएर अनुदानमा किसानलाई वितरण गर्नुभन्दा नेपालमै आफ्नै कारखाना खोलेर बिक्री वितरण गरे सस्तो पर्ने उनको बुझाइ छ । “निजी क्षेत्रबाट पनि उद्योग सञ्चालन गर्न धेरै उद्यमी तयार छन् तर सरकारले त्यसलाई प्रोत्साहन गर्नुपर्छ ।”

कच्चा पदार्थ ल्याउन कर छुटदेखि उद्योग सञ्चालन गर्न र बिक्री वितरण गर्न अरू सुविधा दियो भने नेपालमै पनि कृषि औजार उत्पादन हुन सक्छ,” उनले भने । वीरगञ्जमा वर्षौंदेखि कृषि औजार कारखाना बन्द छ । प्रत्येक बजेट तथा कार्यक्रममा कृषि औजार कारखाना सञ्चालन गर्ने भनिए पनि हालसम्म त्यो सञ्चालन हुन सकेको छैन ।

किसानले प्रयोग गरिरहेका अधिकांश कृषि औजार तथा उपकरण भारत र चीनबाट आयात हुने गरेका छन् ।

स्रोत: गोरखापत्र

Comments

Back to top